नगरकोट भ्रमण वर्ष २०८२ को उद्घाटन राष्ट्रपति पौडेलले गर्ने

काभ्रे  – नगरकोट भ्रमण वर्ष ‘२०८२’ आउँदो नयाँ वर्ष २०८२ वैशाख १ गतेबाट सुरु हुदैँछ । नगरकोट भ्रमण वर्ष ‘२०८२’ को उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुहुनेछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा बतासे डाँडा (नगरकोट सनराइज भ्यू पार्क) मा हुनेछ । उद्घाटन समारोह बैशाख २ र ३ गते सम्म चल्ने बारे शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।

नगरकोट भ्रमण वर्षको आयोजकमा चाँगुनारायण, मण्डनदेउपुर, बनेपा र शंखरापुर नगरपालिकाहरु छन्। कार्यक्रम नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वय तथा सहकार्यमा आयोजना हुँदैछ भने यसको प्रर्वधकमा बागमती प्रदेश सरकार र नेपाल पर्यटन बोर्ड रहेका छन् ।

भ्रमण वर्ष सफल पार्न मण्डनदेउपुर नगरप्रमुख टोक बहादुर वाइबाको संयोजकत्वमा चार वटै नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत, वडाध्यक्ष, पूर्व तथा वर्तमान जनप्रतिनिधि, सामाजिक संस्था, पर्यटन व्यवसायी लगायत १ हजार १ सय १ सदस्यीय संयुक्त मूल आयोजक समिति गठन गरिएको छ। साथै, विभिन्न ९ वटा उपसमिति पनि गठन गरिएको छ ।

नगरकोट क्षेत्र तथा यससँग जोडिएका चारै नगरपालिकामा रहेका प्राकृतिक सौन्दर्य, धार्मिक मठमन्दिर, पौराणिक सम्पदा, सांस्कृतिक र ऐतिहासिक स्थलहरूलाई प्रचारप्रसार गर्ने मुख्य उद्देश्य राखिएको छ। यस भ्रमण वर्षमा कम्तीमा १० लाख आन्तरिक र १ लाख अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने लक्ष्य लिइएको आयोजकले जनाएको छ ।

भ्रमण वर्ष उद्घाटन अवसरमा ५० भन्दा बढी स्टल, स्थानीय कृषि उत्पादन, फुड स्टल, झाँकी प्रदर्शनी, कला चित्रांकन, कला संग्रहालय स्थापना लगायतका गतिविधिहरू हुनेछन् । बैशाख २ गते लोकदोहोरी समूह ‘इन्द्रेणी’, र बैशाख ३ गते गायक प्रकाश सपुत र स्थानीय कलाकारहरूले सांगीतिक प्रस्तुति दिनेछन् ।

साथै, होटल व्यवसायीहरूले नयाँ वर्षको बैशाख १, २ र ३ गते १५ प्रतिशत छुट तथा भ्रमण वर्ष अवधिभर १० प्रतिशत छुट दिने घोषणा गरेका छन् । काठमाडौं–नगरकोट सिधा बस सेवा पनि सुरु गरिएको छ । चारवटै नगरपालिकाबाट नगरकोट जोड्ने सडक स्तरोन्नतिको काम भइरहेको छ। चाँगुनारायण नगरपालिकाले कालोपत्रे प्रक्रिया सुरु गरिसकेको छ भने पदमार्गमार्फत पनि नगरकोट भ्रमणको अनुभव लिन सकिनेछ।

चैत महिनामा राष्ट्रिय सहकारी दिवसको विशेष कार्यक्रम र नगरकोट भ्रमण वर्ष स्मारिका प्रकाशन गरिने योजना छ। पुस महिनामा अंग्रेजी नयाँ वर्षको अवसरमा चारै पालिकाको सहभागितामा भव्य सांगीतिक कार्यक्रम नगरकोटमा आयोजना गरिनेछ । नगरकोट भ्रमण वर्ष २०८२ ले यस क्षेत्रको पर्यटन, कृषि पर्यटन, सांस्कृतिक विविधता र आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले लिएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.