स्थानीय सरकारको लगानीमा बनेको नेपालकै पहिलो जिपलाइन

मकवानपुर- स्थानीय सरकारको लगानीमा बनेको नेपालकै पहिलो जिपलाइनको उद्घाटन गरिएको छ । मकवानपुरको सुन्दर पर्यटकीय क्षेत्र कैलाश गाउँपालिकामा निर्माण गरिएको साहसिक खेल ‘बैकुण्ठ-कैलाश जिपलाइन’ औपचारिक रूपमा सोमबारबाट सञ्चालनमा ल्याइएको हो ।

गाउँपालिकाको लागानीमा वडा नं. २ स्थित बैकुण्ठमा निर्माण गरिएको जिपलाइन गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको हो ।

कैलाशका दुई डाँडा जोड्ने जिपलाइन कुल १ हजार २०० मिटर लामो रहेको छ। जिपलाइन सुरुवात भएसँगै कैलाश गाउँपालिकाले साहसिक पर्यटनको क्षेत्रमा पनि नयाँ आयाम सुरु गरेको अध्यक्ष लोक बहादुर मोक्तानले बताउनुभयो ।

यो जिपलाइन नेपालमै पहिलोपटक स्थानीय सरकारले आफ्नो बजेटमा निर्माण गरेको जिपलाइन हो । कुल ८४ लाख रुपैयाँ लगानीमा निर्मित जिपलाइनलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि पालिकाले मोडालिटी तयार गरेको छ ।

टिकट घर निर्माण, सुरक्षाकर्मी, कर्मचारी व्यवस्थापन लगायतका कार्य चाँडै टुङ्याएर अघी बढ्ने योजना रहेको अध्यक्ष मोक्तानले बताउनुभयो । पालिकासँग पर्याप्त मात्रामा आन्तरिक आयस्रोत नभएपनि इच्छाशक्ति भने रहेको उपाध्यक्ष बालकुमार मल्लले बताउनुभयो ।

जिपलाइनले आम्दानी र पहिचान दुवै दिलाउनेमा उहाँ विश्वस्त हुनुहुन्छ । मकवानपुरकै विकट क्षेत्रको रुपमा रहेको उक्त स्थानमा पालिकाले होमस्टे सञ्चालनको तयारी गरेको छ । यसकालागि ११ घरधुरीलाई तालिम समेत प्रदान गरिएको छ ।

यो जिपलाइनले कैलाशलाई नयाँ उचाइमा पुर्‍याउने पालिकाको विश्वास रहेको छ । पर्यटकीय सम्भावना बोकेको यस जिपलाइन धादिङ जिल्लाको रोराङ बेनीघाट गाउँपालिका तथा मकवानपुरको थाहा नगरपालिका, राक्सिराङ र मनहरी गाउँपालिकाका पर्यटकका लागि आकर्षण बन्ने अपेक्षा गरिएको छ।

बैकुण्ठमा जिपलाइनसँगै अन्य पर्यटकीय पूर्वाधारहरु पनि निर्माण गरिएका छन् । डाँफे मुनाल पार्क, डम्फूपार्क, विष्णुकुण्ड निर्माण गरिनुका साथै करिब ४०० वर्षअघिको सतीघाट संरक्षण गरिएको दुई नम्बर वडाका अध्यक्ष राजेन्द्र तामाङ घिसिङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.