गोरखा र कास्कीमा चट्याङ लागेर तीनको मृत्यु, दुईजना घाइते

गोरखा– गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । चट्याङ लागेर मुत्यु हुनेमा सहिद लखन गाउँपालिका–१, बक्राङका ४२ वर्षका राजु खनाल रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धुब्रप्रसाद शर्माले जानकारी दिनुभयो ।
आइतबार साँझ अन्दाजी ७ः५० बजे घरमा बसिरहेका बेला एक्कासी परेको चट्याङ लागेर खनाल गम्भीर घाइते हुनुभएको थियो । घाइते खनाललाई प्रदेश अस्पताल गोरखामा उपचारका लागि ल्याएको भएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो ।
मृतकको शव अहिले परीक्षणका लागि अस्पतालमा राखिएको छ । त्यस्तै  आइतबार साँझ नै पालुङटार नगरपालिका–७ स्थित च्याङलीमा चट्याङ लागेर ५० वर्षकी सुकमायाँ आले, १८ बर्षिया विपना आले घाइते भएका छन् । घाइते दुवैजनाकोे चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच यता कास्कीको अन्नपूर्ण गाउँपालिकामा चट्याङ लागेर दुई मजदुरको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका–११ पोडेस्थित त्रिवेणी ताल पदमार्गमा काम गरिरहेको अवस्थामा आइतबार हावाहुरीसहितको चट्याङ लागेर सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरत पुविर राई र सोही ठाउँका वर्ष १८ का महेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।
समुन्द्री सतहदेखि तीन हजार आठ सय मिटर उचाईमा रहेको त्रिवेणीताल पदमार्गमा बाटो फराकिलो बनाउने, सिँढी हाल्ने र रेलिङ निर्माणमा खटिएका नौ जनामध्ये बाँकी सात जना भने सकुशल रहेको जनाइएको छ ।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा चार जनाको टोली आइतबारनै घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक शमाले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाबाट गएको प्रहरी टोली हिजो राति घान्द्रुक पुगेर बास बसेको छ ।
त्यहाँबाट पैदल पाँच घण्टाभन्दा बढी समय लाग्ने भएकाले दिउँसोसम्म घटनास्थल पुगेर शव ल्याउने प्रक्रिया सुरु हुन्छ ।” नेपाल पर्यटन बोर्ड र गाउँपालिकाकाको संयुक्त लगानीमा पदमार्ग निर्माण सुरु भएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.