जलवायु सङ्कट नियन्त्रणका प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्ने

ललितपुर-  उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तन वर्तमानको सबैभन्दा गम्भीर सङ्कट भएको बताउनुभएको छ । साथै उहाँले जलवायु सङ्कट नियन्त्रणका हरेक प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा ललितपुरमा आज आयोजित लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटको उद्घाटन गर्दै उहाँले जलवायु परिवर्तनका कारण उत्पन्न सङ्कट नियन्त्रण तथा समाजमा चेतना फैलाउन मडियाले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

“जलवायु परिवर्तन र त्यसको प्रभाव घटाउन पत्रकारहरुको सक्रियता आवश्यक छ । सत्यतथ्यमा आधारित समाचार सामग्रीहरुको उत्पादन गर्दै जनचेतना फैलाउने, नीति निर्मातालाई उत्तरदायी बनाउने, नवीन प्रविधिको प्रयोग तथा समस्या समाधानका उपायका साथ मिडिया प्रस्तुत हुनुपर्छ,” उहाँले भन्नुभयो ।

जलवायु परिवर्तन रोकथामका सरकारी प्रयासहरुमाथि निगरानी बढाउने, वातावरणमैत्री प्रविधि, हरित ऊर्जा तथा दिगो विकाससम्बन्धी जानकारी आमनागरिकसम्म सरल भाषामा पस्कन उपराष्ट्रपतिले पत्रकारहरुलाई सुझाव दिनुभयो । सनसनी फैलाउने समाचारले गतल सूचना प्रवाह गर्ने भएकाले त्यसप्रति पत्रकारहरु सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले पत्रकारहरु पेशागत रुपमा निरपेक्ष हुनुपर्नेमा जोड दिनुभयो ।

“प्रेस स्वन्तन्त्रता लोकतन्त्रको मेरुदण्ड हो, लोकतन्त्रलाई सशक्त बनाउन प्रेस स्वतन्त्रता अनिवार्य छ, स्वतन्त्र प्रेस नागरिकहरुलाई सही सूचना प्रदान गर्ने, सरकारको जवाफदेहिता सुनिश्चित गर्ने तथा आमनागरिकको आवाज उठाउने एक महत्वपूर्ण माध्यम पनि हो,” स्वतन्त्र प्रेसका माधयमबाट लोकतन्त्र सुदृढ हुने बताउँदै उपराष्ट्रपतिले भन्नुभयो ।

सामाजिक सञ्जालहरुमा प्रमाणबिना समाचार फैलाउने, गलत जानकारीलाई सत्यका रुपमा प्रस्तुत गरी आमनागरिकमा भ्रम सिर्जना गर्ने, ‘डीपफेक’ प्रविधिद्वारा गलत चित्र र भिडियो उत्पादन गरी सार्वजनिक धारणा प्रभावित भइरहेको चुनौतीपूर्ण अवस्थामा तथ्य जाच्ने प्रणाालीलाई बलियो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रेस स्वतन्त्रता र लोकतन्त्रको सुदृढीकरणबाट समाजमा सकारात्मक प्रभाव पर्ने तथा मुलुक उन्नतिको मार्गमा अग्रसर हुनसक्ने बताउनुभयो ।

प्रविधिको तीव्र विकास र सञ्चारका परम्परागत माध्यमहरूको परिवर्तनसँगै नवीन माध्यमले गलत सूचनाको तीव्र फैलावटलाई बढावा दिएकाले लोकतन्त्रको आधारशिलालाई क्षति गर्ने तिनको गलत प्रयोग र प्रवृत्ति नियन्त्रण गर्नुपर्छ भन्नुभयो ।

परराष्ट्रमन्त्रीले लोकतन्त्रमा बहस, आलोचना र भिन्न दृष्टिकोणलाई आत्मसात् गरिने भएकाले बहुलवादलाई पक्षपोषण गर्ने स्वतन्त्र प्रेसले आर्थिक विकास, सामाजिक उन्नति र सांस्कृतिक समृद्धिको वातावरण सिर्जनालाई केन्द्रमा राख्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.