सप्तरी-४ बाट रास्वपाका सिताराम साह विजयी

काठमाडौँ- सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सिताराम साह विजयी हुनुभएको छ । उहाँले ३६ हजार ४ सय १२ मत ल्याएर विजयी हुनुभएको हो ।
साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तेजुलाल चौधरीले १३ हजार १ सय ३ मत प्राप्त गर्नुभयो ।
कांग्रेसका उम्मेदवार चौधरी सप्तरी क्षेत्र ४ बाट यसअघि तीन पटक लगातार निर्वाचित भएर मन्त्री बन्नुभएको थियो । साहले २३ हजार ३ सय ९ मतको फराकिलो मतान्तरले चौधरीलाई पराजित गर्नुभयो ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधित्व गर्नु हुने सिताराम साह २०३८ सालदेखि विद्यार्थी राजनीतिबाट सक्रिय रहँदै राजनीतिमा प्रवेश गर्नुभएको हो।
रास्वपा गठन हुनुअघि उहाँ निजामती कर्मचारी युनियनका वरिष्ठ सल्लाहकार रहनुका साथै नेपाली काँग्रेस सप्तरी क्षेत्र नम्बर ४ का सभापति पनि हुनुहुन्थ्यो।
२०१७ सालमा सप्तरीको खडक नगरपालिकाको कल्याणपुरमा जन्मनु भएका उहाँले Soil Conservation मा स्नातक गर्नुभएको छ।
भूसंरक्षण कार्यालयका प्रमुखका रूपमा राष्ट्रसेवक कर्मचारी भएर काम गरेको अनुभव उहाँसँग छ। स्थानीय समाज र राजनीतिक वृत्तमा लामो समयदेखि परिचित उहाँलाई परिपक्व नेतृत्वको प्रतिनिधित्व गर्ने नेताका रूपमा हेरिन्छ।
क्षेत्रीय तथा व्यवहारिक शिक्षाबाट प्राप्त अनुभवलाई सार्वजनिक सेवासँग जोड्ने अभियानकर्ताका रूपमा उहाँ परिचित हुनुहुन्छ।
साह जिल्लाको समुदाय, सरोकार र स्थानीय आवश्यकतासँग प्रत्यक्ष रूपमा जोडिएर सामाजिक गतिविधिमा सक्रिय रहँदै आउनु भएको छ।
साथै, निजामती कर्मचारी युनियनका वरिष्ठ सल्लाहकारका रूपमा संस्था निर्माण, नेटवर्किङ तथा नेतृत्व परामर्शमा पनि उहाँले अनुभव हासिल गर्नुभएको छ।
अनुभवी पृष्ठभूमिलाई ‘नयाँ राजनीतिक संस्कार’सँग जोड्ने उद्देश्यका साथ उहाँ रास्वपाबाट राजनीतिमा सक्रिय हुनु भएको हो।
प्राकृतिक स्रोत तथा वातावरण संरक्षण, कृषिमा आधारित अर्थतन्त्रको विकास, स्थानीय सेवाप्रवाहको सुधार र जवाफदेहिता अभिवृद्धिजस्ता विषयलाई संघीय तहको बहसमा सशक्त रूपमा उठाउने लक्ष्य उहाँको रहेको छ।
६५ वर्षको उमेरमा रास्वपाको तर्फबाट प्रत्यक्ष निर्वाचित हुँदै उहाँ संसदमा पाको र अनुभवी प्रतिनिधिका रूपमा उपस्थित हुनुभएको छ।।






प्रतिक्रिया राख्नुहोस्