यस कारण विशेष छ एभरेस्ट समिटर समिट 

काठमाडौँ-  नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय एभरेस्ट समिटर समिट हुने भएको छ। काठमाडौँमा जेठ १३ गते सञ्चालन हुने समिटमा आरोहीहरूले सहभागी भएर आफ्नो अनुभव सुनाउने छन्।

१६ देशका १७७ जनाभन्दा बढी अनुभवी पर्वतारोही एकै थलोमा जम्मा गरेर उनीहरूको अनुभव आदानप्रदान हुनेछ। जसले साहसिक पर्यटनलाई प्रवर्धन गर्ने आयोजकको विश्वास छ।

सम्मेलनमा भारत र चीनसँगै अमेरिका, बेलायत, इटली, स्वीट्जरल्याण्ड, नर्वे, इरान, सिङ्गापुर, अस्ट्रेलिया, लेबनान, मोरक्को, युएईलगायत देशबाट आरोहीहरू नेपाल आउनेछन्।

सम्मेलनमा ७१ वर्ष अघिदेखिका सगरमाथा आरोही सहभागी हुने र उनीहरूले आफ्नो कीर्तिमानी आरोहणको अनुभव बाँड्ने एभरेस्ट समिटर समिटका आयोजक एभरेस्ट एलाइन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले बताउनुभयो।

सगरमाथा आरोहणको सात दशक लामो इतिहासमा पहिलो पटक हुन लागेको समिटकै अवसरमा एडमन्ड हिलारीसँग सगरमाथा आरोहण गरेका कान्छा शेर्पालाई सम्मान गर्ने पनि कार्यक्रम तय भएको छ।

सन् १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गेसँगै पहिलो पटक सगरमाथा चढ्ने टोलीका सदस्य रहेका कान्छा शेर्पा अब जीवित इतिहास हुन्। उनी केवल एक आरोही होइनन्, एक युगका प्रतिनिधि हुन्।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको प्रभावका बारेमा बृहत् छलफल हुनेछ। नेपालले पछिल्लो समय विश्व स्तर।का फोरममा जलवायु परिवर्तनको असर र यसले नेपालमा पारेको प्रभावबारे कुरा उठाउँदै आएको छ।

हिमाल आरोहिले भोग्न परेका समस्या र आगामी दिनमा गर्न पर्ने सुधारको विषयमा पनि समिटमा छलफल हुनेछ।

प्रकृतिका लागि विश्वव्यापी कोष (डब्लुडब्लुएफ), अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन), समृद्ध पहाडलगायत विभिन्न सङ्घसंस्थाको सहभागितामा हिमालका समस्या बारे आरोहीसँग समूहगत छलफल समेत हुनेछ।

यस्तै पर्यटन व्यवसायीको छाता संस्थाहरू नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्ट), ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण सङ्घ, होटल सङ्घ नेपाललगायत संस्थाको समन्वय र सहकार्य गरेर समिट सञ्चालन गर्न लागिएको पनि आयोजक ले बताएका छन् सम्मेलनले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने पर्यटन व्यवसायीको विश्वास छ।

एभरेस्ट समिटर समिटमा हिमाल, जलवायु, संस्कृति र साहसका विषय एकै मञ्चमा उठ्नेछन्।

फरक अवस्थाबाट कीर्तिमान रहेका आरोहीहरूले आफ्नो अनुभव बाँड्नेछन्। यो केवल एक सम्मेलन होइन, नेपालको साहसिक पर्यटन र अन्तर्राष्ट्रिय छविमा दीर्घकालीन प्रभाव पार्ने अभियान हो’, एभरेस्ट अलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले भन्नुभयो।

सगरमाथा अब केवल आरोहणको गन्तव्य मात्र छैन। यो जलवायु सङ्कटको साक्षी बनिरहेको छ। विश्वमा तापमान वृद्धि उच्च हिमाली क्षेत्रहरूमा औसतभन्दा छिटो भइरहेको छ र यसको प्रभाव नेपालजस्ता देशमा प्रत्यक्ष देखिएको छ।

यदि यस्तो अवस्थालाई रोक्न सकिएन भने हाम्रो हिमाली क्षेत्र क्रमशः ‘कालापथ्थर’ नाङ्गो, हिमरहित चट्टानी भूभागमा परिणत हुने खतरा रहेका जलवायु विज्ञ धर्मराज उप्रेती बताउँनुहुन्छ।

यो नेपालको मात्रै समस्या नभएर विश्वकै चिन्ताको विषय रहेको उहाँको भनाई छ।

उहाँका अनुसार थामे र लिमी जस्ता उच्च हिमाली बस्तीहरूमा देखा परेका परिवर्तन, पग्लिँदै गरेका हिमनदी, विस्फोट भएका हिमताल र बारम्बार भइरहेका हिम पहिरो वातावरणीय सङ्कटका सङ्केत हुन्।

समिटमा विश्वभरका आरोही जुट्दा यसले सन्देश मात्रै दिनेछैन। नेपालले विकासशील देशको हैसियतमा जलवायु सङ्कटमा अग्रसर भूमिका निर्वाह गर्नेछ।

हिमालको चुचुरोबाट अब केवल झन्डा फहराइँदैन, चेतनाको स्वर पनि सुनिनेछ। “अब केवल आरोहण होइन, संरक्षण पनि”, भन्ने सन्देश सम्मेलनबाट संसारले पाउनेछ।

सगरमाथा हाम्रो गौरव मात्र होइन, हाम्रो जिम्मेवारी पनि हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.