राष्ट्रिय पर्यटन संवाद : क्षेत्रगत समस्याको पहिचान गरी समाधानमा जोड

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष उपस्थितिमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार भएको ‘राष्ट्रिय पर्यटन संवाद’मा नेपालको पर्यटन क्षेत्रभित्र देखिएका क्षेत्रगत समस्या पहिचान गरी तिनको समाधानमा एकीकृत प्रयास गर्नुपर्नेमा जोड दिइएको छ
।
संवादमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पर्यटन क्षेत्रको विकासका लागि विगतमा प्रयास भए पनि वर्तमान समयका लागि पर्याप्त हुन नसकेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘जसरी अहिले प्रचार गरिँदै छ, त्यस अनुसार काम नै नभएको भन्ने होइन, अझै धेरै गर्न बाँकी छ । हामीले गर्नुपर्छ ।” प्रधानमन्त्री ओलीले अब नेपाल दुर्गम नरहेकोसमेत उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभयो, “नेपाल अब दुर्गम रहेन । सडक सञ्जालहरू विगत गाउँसम्म पनि पुगेका छन् । अब केही भएन भनेर बस्ने अवस्था छैन।”
त्यसै गरी प्रधानमन्त्री ओलीले पर्यटन विकास, प्रवर्द्धन र प्रचारका लागि प्रशासनिक झन्झट हटाउनु जरुरी औँल्याउनुभएको छ । उहाँले थप्नुभयो, “नेपाल वायु सेवा निगमको पुनः संरचना आवश्यक छ र त्यसको लागि सरकार जिम्मेवार छ । यो काम सरकारले चाँडै गर्छ । अर्को कुरा भनेको हामीले र हाम्रा संरचनाहरूले पर्यटकलाई दुःख दिने काम बन्द गर्नुपर्छ। उहाँहरूलाई सहजीकरण गर्नतर्फ
केन्द्रित हुनुपर्छ ।”
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन र विकासमा देखिएका प्रमुख समस्या पहिचान गरी समाधानमा केन्द्रित योजना अघि सार्नुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “नेपालको आर्थिक समृद्धिको मेरुदण्डका रूपमा पर्यटन क्षेत्र रहेको छ ।
सरकार विभिन्न नीतिगत सुधार गर्दै नव प्रवर्तनमूलक कार्यक्रम कार्यान्वयनमा ल्याइरहेको छ । निजी क्षेत्रको प्रयास पनि अत्यन्तै सराहनीय छ । तर, अपेक्षाअनुसार लाभ लिन नसकेको अवस्था छ । जनशक्तिको अभाव, नीति कार्यान्वयनको कमजोरी, लगानीको खण्डीकरणजस्ता समस्या समाधान गर्नु अपरिहार्य छ।”
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले ‘नेपालको पर्यटन सम्भावनाको उजागर’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै नेपालको पर्यटन विकास, नीति तथा कानुनी अड्चन, चीन र भारतजस्ता ठुलो पर्यटक बजारबाट लाभ उठाउने रणनीति, तथा प्रकृति र संस्कृति आधारित गन्तव्यहरूको प्रवर्द्धनको आवश्यकता औँल्याउनुभएको हो ।
कार्यक्रममा सङ्घ सरकारबाट पर्यटन मन्त्रीसहित सात जना मन्त्रीहरूको सहभागिता रहेको थियो । जसमा सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालको हवाई सेवा निकै कमजोर रहेको र प्रतिबन्धित विदेशी उडानहरूलाई अनुमति दिनुपर्ने बताउनुभयो । गृहमन्त्री रमेश लेखकले शान्ति, सुरक्षा र सीमाको सुरक्षालाई प्राथमिकता दिइने स्पष्ट पार्नुभयो ।
श्रम मन्त्री शरद सिंह भण्डारीले पर्यटन भनेको व्यावसायिक गतिविधि भएकोले निजी क्षेत्रलाई सरकारले सहजीकरण गर्ने बताउनुभएको छ। उहाँले छिमेकी देशहरूमा ठुलो पर्यटन बजार छ, त्यसको लाभ उठाउन रणनीति सुधार आवश्यक रहेकोसमेत औँल्याउनुभयो ।
परराष्ट्र मन्त्री आरजु राणा देउवाले पछिल्लो समय आफू पर्यटन कूटनीतिमा सक्रिय रहेको उल्लेख गर्दै विदेशी लगानी र पर्यटक भित्र्याउने कुरामा सरकार लागिरहेको जानकारी गराउनुभयो । उहाँले सात वटै प्रदेशबाट समेटेर पर्यटन गुरुयोजना तयार गर्नु आवश्यक रहेकोसमेत बताउनुभएको छ ।
भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पर्यटन पूर्वाधार निर्माणमा प्राथमिकता दिइने र सडक संरचना सुधार चाँडै गरिने जानकारी दिनुभयो । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले पर्यटकको रोजाई प्रकृति र राष्ट्रिय निकुञ्जहरु पर्ने भएकोले यसको सहजीकरण का लागि कानुनी अड्चनहरू हटाउन मन्त्रालय सक्रिय रहेको बताउनुभयो ।
कार्यक्रममा गण्डकी, कोसी र लुम्बिनी प्रदेशमा पर्यटन मन्त्रीहरुको पनि सहभागिता रहेको थियो । जसमा गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले पर्यटनबाट उठेको राजस्वको वितरण नीति स्पष्ट पार्नुपर्ने, प्रदेशमा कम्पनी दर्ता कार्यालय स्थापना गर्नुपर्ने, उद्धार व्यवस्थापनको दायित्व पनि प्रदेशलाई दिनुपर्ने बताउनुभयो ।
कोसी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री साडानन्द मण्डलले अन्तर-प्रदेश हवाई सम्पर्क आवश्यक रहेको र सङ्घ सरकारले त्यसका लागि सहजीकरण गर्नुपर्ने बताउनुभयो । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले पर्यटकीय गन्तव्यहरूको सही तरिकाले प्रचारप्रसार गर्नुपर्नेमा जोड दिँदै सीमामा पर्यटकलाई सास्ती भोग्नुपर्ने अवस्था
हटाउनुपर्ने, पूर्वाधार विकास गर्नुपर्ने र नीति सुधार आवश्यक रहेको बताउनुभयो ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पोखराबाट मुक्तिनाथसम्म केबलकार सञ्चालनको तयारी भइरहेको तर हवाई सेवामा प्रगति गर्न नसकेको जानकारी दिनुभयो । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले प्रक्रियागत झन्झट हटाई निजी क्षेत्रलाई सजिलो बनाउनेतर्फ सरकार क्रियाशील रहेको र प्रत्येक प्रदेशमा एउटा प्रमुख गन्तव्य घोषणा गर्न अनुरोध गर्नुभयो
।
प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडाले स्थल मार्गको प्रयोग गरी पर्यटन प्रवर्द्धन सम्भव भएको उल्लेख गर्दै सडक सञ्जालको स्तरोन्नतीमा जोड दिनुभयो । यसका साथै उहाँले नेपालको ठुलो जनसङ्ख्या तराई क्षेत्रमा बसोबास गर्ने भएकाले तराई क्षेत्रका पर्यटकीय गन्तव्यहरूको विकास गर्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा विभिन्न निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो । उहाँहरूले नीतिगत सुधारका सुझावहरू प्रस्तुत गर्नुभएको छ । नेपाल एसोसिएसन फर टुर एन्ड ट्राभल एजेन्ट (नाटा) का अध्यक्ष कुमारमणि थपलियाले पर्यटनमा मूल्य अभिवृद्धि कर हटाउन, पर्यटकीय बसपार्क स्थायी रूपमा निर्माण गर्न र विमान भाडामा लिन वा किन्न दिन सरकारले पहल गर्नुपर्ने बताउनुभयो । ट्रेकिङ एजेन्सी सङ्घ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले कोरला नाका खोल्न पहल गर्नुपर्ने, नेपाल वायुसेवा निगमलाई सुदृढ
गर्नुपर्ने सुझाव दिनुभयो ।
होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाहले २६ वटा पाँचतारे होटल सञ्चालनमा रहेको उल्लेख गर्दै विश्वका नाम चलेका होटल नेपालमा आइसकेको, तर सरकारद्वारा तोकिएको मापदण्ड अनुगमन आवश्यक रहेको बताउनुभयो । साथै, पर्यटक इको-पर्यटन खोजिरहेकाले होटेलहरूमा बिजुलीबाट सञ्चालित गाडी र भान्सा हुनुपर्ने तथा सिपयुक्त जनशक्तिको अभाव सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष मनोज कार्कीले पर्यटन विकासको लागि यातायात, विशेष गरी हवाई र सडक यातायात सुधार्नुपर्ने, राष्ट्रिय ध्वजावाहकलाई बलियो बनाउनु पर्ने बताउनुभयो । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का अध्यक्ष निमा नुरु शेर्पाले हिमाल चढ्ने शुल्क धेरै भएको, एकद्वार प्रणाली आवश्यक रहेको र पर्वतारोहणको लागि पीक प्रोफाइल तयार पार्नुपर्ने
बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र ढकालले सीमा नाकामा समस्या रहेको, नगद कारोबारमा अवरोध रहेको, बेरोजगारी बढ्दै गएको तर सिपयुक्त जनशक्ति अभाव रहेको र सरकारबाट नीतिगत वातावरण आवश्यक रहेको
बताउनुभयो । पूर्व पर्यटन सचिव दीपेन्द्र पुरुष ढकालले नेपालको हवाई क्षेत्र युरोपेली सङ्घको कालोसूचीबाट हट्नुपर्ने, हवाई सेवामा सुधार गर्नुपर्ने र नेपाल वायुसेवा निगमलाई बलियो बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
राष्ट्रिय पर्यटन संवादले नेपालको पर्यटन क्षेत्रमा विद्यमान बहु आयामिक समस्या पहिचान गरी, तिनको दीर्घकालीन समाधानका लागि समन्वित प्रयास र स्पष्ट रणनीतिको आवश्यकता औँल्याएको छ । प्रधानमन्त्री ओलीले पहिचान भएका समस्यालाई साउन १ गतेबाट नै कार्यान्वयनमा ल्याउने गरी कार्य योजना बनाउनसमेत सम्बन्धित मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।






प्रतिक्रिया राख्नुहोस्