चीनका आरोहीले अवलोकन गरे राससको फोटो प्रदर्शनी

काठमाडौँ- ‘एभरेष्ट समिटर्स समिट–२०२५’ मा सहभागी हुन आएका चीनका आरोहीले राष्ट्रिय समाचार समिति (रासस)को केन्द्रीय कार्यालयमा जारी तस्बिर प्रदर्शनीको अवलोकन गरेका छन् ।

समिटमा सहभागी हुन आएका ३० चिनियाँ आरोहीले आज तस्बिर प्रदर्शनी अवलोकन गरेका हुन् । तस्बिर अवलोकन गर्न आएका आरोहीलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले स्वागत गर्नुभयो । उहाँले रासस कार्यालयमा आएर तस्बिरहरुको प्रदर्शनी अवलोकन गरेकामा धन्यवाद ज्ञापन गर्नुभयो ।

“तपाईहरु जस्तो सगरमाथा आरोहण गर्ने विशिष्ट व्यक्तिहरुलाई एकै थलोमा भेट्न पाउँदा खुसी भएका छाँै”, कार्यकारी अध्यक्ष झाले भन्नुभयो, “सगरमाथा आरोहण गर्ने तपार्इँहरु हाम्रा लागि अत्यन्तै महत्त्वपूर्ण हुनुहुन्छ । तपाईँहरुले जलवायु परिवर्तनले पु¥याएको असरका बारेमा विश्वलाई सन्देश प्रवाह गरिरहनुभएको छ ।”

अध्यक्ष झाले राससले विश्वका सिन्ह्वा, पिटिआइ, एपी, एएफपीलगायतका समाचार संस्थाजस्तै समाचार उत्पादन गरेर नेपाल र विदेशका मिडियालाई समाचार वितरण गर्ने गरेको जानकारी दिनुभयो । समाचार उत्पादनसँगै संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपालको पर्वतलाई राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा प्रचारप्रसार गर्न तथा समग्र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तस्बिर प्रदर्शनी आयोजना गरिएको उहाँले बताउनुभयो ।

एभरेष्ट एलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले समयसान्दर्भिक तस्बिर प्रदर्शनी ऐतिहासिक रहेको र यसको माध्यमबाट नेपालको साहसिक पयटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यही जेठ १३ गते काठमाडौँमा आयोजना भएको एभरेस्ट समिटर्स समिटमा भारत, चीनलगायत २५ मुलुकबाट करिब तीनसय सगरमाथा आरोही नेपाल आएका थिए । तस्बिर प्रदर्शनी राम्रो र निकै उपयोगी भएको जनाउदै धेरैजसो सगरमाथा आरोहीले सगरमाथा बाहेकका अन्य हिमालबारे विस्तृत जानकारी लिन र हिमाली दृश्यावलोकन गर्न पाएकोमा खुसी व्यक्त गरे । उनीहरुले विभिन्न हिमालबारे थप जिज्ञासासमेत राखेका थिए ।

प्रदर्शनी अवलोकन गर्दै चीनका सगरमाथा आरोही छाओले प्रदर्शित तस्बिरले आफ्नो विगतको हिमाल यात्रालाई स्मरण गराएको बताउनुभयो । उहाँले राससमा आएर हिमालको तस्बिर अवलोकन गरेर हिमाली क्षेत्रको जानकारी लिन आउँदा खुसी लागेको प्रतिक्रिया दिनुभयो ।

गणतन्त्र दिवस २०८२ को सन्दर्भमा राससले यही जेठ ११ गतेदेखि ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ शीर्षक तस्बिर प्रदर्शनीको आयोजना गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.