सगरमाथा विश्वको गौरव हो:मन्त्री पाण्डे

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सर्वोच्च शिखर सगरमाथाप्रति विश्वले गौरव गर्ने बताउनुभएको छ । बिहीबार ७२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा वसन्तपुरमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले सगरमाथाको संरक्षण र प्रवर्द्धनमा सचेतना अभिवृद्धि गर्दै विश्वभरका पर्यटनलाई नेपालमा आकर्षण गर्न सबै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
पर्यटन मन्त्री पाण्डेले भन्नुभयो,“सगरमाथा हाम्रो पहिचान र गौरव त हो नै यसप्रति विश्वले नै गौरव गरेको छ । पृथ्वीको सबैभन्दा उँचो भूगोल भएको सगरमाथामार्फत हाम्रो पहिचानलाई स्थापित गर्न सगरमाथा संवाद पनि आयोजना गर्यौ र विश्वलाई सगरमाथाको देशप्रति आकर्षित गर्यौ ।”
उहाँले जलवायु परिवर्तनका कारण हाम्रा हिमालहरू काला पत्थरमा परिणत हुने जोखिम बढेको छ । सगरमाथाको हिउँ पग्लिँदा नेपाललाई मात्र होइन, हिमवत खण्डलाई मात्र होइन सिङ्गो पृथ्वीलाई नै असर गर्छ । त्यस कारण नेपालको समस्या मात्र होइन भन्ने कुरा बुझाउन हामीले विश्वभरका हिमाल र जलवायु बुझेका मानिसहरूलाई बोलाएर छलफल गरेका छौँ ।”
सगरमाथा दिवसकै अवसरमा हनुमान ढोका खुला भएको पनि मन्त्री पाण्डेले जानकारी गराउनुभएको छ । सगरमाथा दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरी भव्य रूपमा मनाइएको छ । दिवसको अवसरमा बिहीबार बिहान प्रमुख पर्यटकीय क्षेत्र टमलेमा प्रभात फेरी आयोजना गरियो । कर्मचारी सञ्चय कोष ठमेलबाट सुरु भएको झाँकी, ब्याण्ड बाजासहितको र्याली वसन्तपुर पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।
र्यालीमा पर्यटन मन्त्री पाण्डे, निमित्त पर्यटन सचिव इन्दु घिमिरे, पर्यटन विभागका महानिर्देशक नारायण रेग्मी , नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशी तथा निजी क्षेत्रका पर्यटन व्यवसायीहरूको छाता सङ्गठनका प्रतिनिधि, सरकारकी कर्मचारी, सुरक्षा निकायलगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो ।
यससँगै नेपाल पर्यटन बोर्ड परिसरमा रहेको तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको पूर्ण कदको सालिकमा समेत माल्यार्पण गरिएको छ ।
सन् १९५३ मे २९ तारिखका दिन नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएका थिए । अन्तर्राष्ट्रिय सगरमाथा दिवसलाई भव्य रूपमा मनाउन पर्यटन मन्त्रीको अध्यक्षतामा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मूल समारोह समिति गठन गरिएको छ ।
दिवसको अवसरमा आज बिहान प्रभात फेरीसहित वसन्तपुरमा औपचारिक कार्यक्रम गरियो भने दिउँसो दिवस मूल समारोह समितिले ‘वर्ल्ड समिटर्स समिट’ कार्यक्रमको आयोजना गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्ययतामा हुने समारोहमा कीर्तिमानी आरोहीका अनुभव आदन–प्रदानका साथै साहसिक पर्यटन प्रवर्द्धन तथा जलवायु परिवर्तनले हिमालमा पारेको प्रभाव न्यूनीकणबारे बहस हुनेछ । यससँगै विभिन्न कीर्तिमानी आरोहीलाई सम्मान गरिने कार्यक्रम छ ।






प्रतिक्रिया राख्नुहोस्