लाङटाङ जहाँका हिमालहरू स्थानीयका प्रमुख आयस्रोत बनेका छन् -फिचर यात्रा

लाङटाङमा हिउँ पर्‍यो भने स्थानीयको खुसीको सीमा नै हुँदैन, हिउँ पर्ने बित्तिकै स्वदेशी तथा विदेशी पर्यटकको आगमनले आर्थिक गतिविधि ह्वात्तै बढाइदिन्छ ।
उपत्यकाको उकुस मुकुस र कोलाहललाई विट मार्न यसपालि हिमाली स्वच्छ हावापानीमा रमाउन विभिन्न मिडियामा कार्यरत पत्रकारहरूको एक हुल रसुवाको लाङटाङ यात्रामा निस्कियो । त्यो अवसर मलाइ पनि जुर्‍यो । हाम्रो यात्रा क्याङ्जिन गुम्बा र आसपासका हिमाल सम्म थियो । आकाश खुल्ने या नखुल्ने रु दोधारमै यात्रा तय भएको थियो । जहाँ पुग्ने बित्तिकै हिउँ पर्न थाल्यो, आकाश खुल्यो, अनि क्याङ्जिन गुम्बा क्षेत्रका हिमालहरू पहिरनले सजिएकी दुलही जस्तै हिउँले छपक्क ढाकिएर चम्किन थाले ।
संयोग दुई, तीन दिन कुहिरोले ढाकेको क्याङ्जिन हामी पुगेकै दिन हिउँ पर्‍यो र आकाश खुल्यो । कहिल्यै हिउँ नदेखेका र हिउँमा नटेकेका विभिन्न मिडियामा कार्यरत साथीहरू क्याङ्जिन गुम्बाको मल्टी भ्यु देखेपछि कहिल्यै भुल्न नसकिने अविस्मरणीय र ऐतिहासिक क्षण बन्यो भन्दै क्यामेरामा दृश्य कैदमा लागे । उपत्यकाबाट बाहिर निस्केर हत्तपत्त हिमाल चढ्छु भन्नू सायद त्यति सहज हुँदैन । अर्थात् त्यो मौका सहजै जुट्दैन । त्यसका लागि  लामो  तयारी गर्नुपर्छ । तर यसपालि भने काठमाडौँ, भक्तपुर र ललितपुरमा बस्ने १६ जना पत्रकारको जम्बो टोली  लाङटाङका लागि हिँड्यो  ।
लाङटाङ राष्ट्रिय निकुञ्ज नामै काफी । सायदै होलान यहाँ जान नहतारिने । हामी बुधवार काठमाडौँको सामाखुसीबाट प्रस्थान गर्‍यौँ । जाने बेला हामीसँगै  करिब ६० बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय म्याराथन  धावकहरू पनि थिए । यश क्षेत्रको पर्यटन प्रवर्द्धन, प्रचारप्रसार तथा अन्तर्राष्ट्रिय स्तरको म्याराथन हब बनाउने उद्देश्यले रसुवा- नुवाकोट पर्यटन समाजले यहाँ विभिन्न गतिविधि गरिरहेको छ । लाङ्टाङ फस्ट ट्रेल रनका लागि खेलाडीहरूको रितु  तामाङ, ऊर्जा तामाङलगायतले जसको नेतृत्व गरेका थिए । बस अघि बढ्यो । धुन्चेमा पुगेर खाना खायौँ । भोक लागेर होला  खाना सारै स्वादिलो लाग्यो । त्यहाँबाट हामी स्याफ्रु बेँसीतर्फ लम्कियौँ । गाडी स्याफ्रुबेंसी सम्म मात्रै जाने रहेछ । गाडी नजाने भएपछि पैदल यात्रा तय गर्‍यौँ ।
लामो दुरीमा न हिँडेका साथीहरू ३२ किलोमिटर पैदल यात्रा कष्टकर बन्ने निश्चित थियो । आज पहिलो दिन ९ किलोमिटर हिँड्नु पर्ने छ भनेर रितुले जानकारी दिनुभयो । कष्टकर देखिए पनि यो आफैमा रमाइलो अनुभूति सँगाल्ने अवसर बन्यो । पाइलैपिच्छे नयाँ नयाँ परिवेश, नयाँ दृश्य, यहाँ घुम्न जाने विदेशीहरूको घुइँचोले गर्दा हाम्रा खुट्टाले विश्राम दिँदै उनीहरूसँगै  स्याफ्रुबेंसीबाट निरन्तरको हिँडाइपछि करिब ४ घण्टामा हामी गोसाईंकुण्ड गाउँपालिका वडा नं ५, ब्याम्बो भन्ने ठाउँमा पुग्यौँ । रात पर्न थालो । पहिलो दिनको बसाइ यही ब्याम्वुमा भयो । जताततै बाँस र निगालो भएकाले होला यस ठाउँको नाम विदेशी पर्यटकहरूले ब्याम्बो भनेर परिचित गराएका रहेछन् ।
यो ठाउँमा बास बस्नका लागि ३ वटा होटल (कटेज) मात्रै भएकाले कतिपय बेला टेन्टमा बस्नुपर्ने अवस्था आउँछ । ब्याम्बो अत्यन्तै सुन्दर छ । खाना पनि मिठो । न्यानो आतिथ्ययताले झनै जोसिएका थियौँ । दुःखको कुरा यहाँ बिजुली छैन । मोबाइलमा बारम्बार सम्पर्क गर्नुपर्ने अवस्था तर चार्ज गर्न नपाइने, नेपाल टेलिकमको सिम चल्दैन । सोलारको बत्तीले उज्यालो पाए पनि चार्ज गर्न नपाइने भएकाले यात्रामा निस्किने साथीहरूले पावर बैङ्क बोकेर जानु उत्तम हुन्छ । ९ किलोमिटर पैदल हिँड्नु पर्ने भएकाले शरीर थाकेर लखतरान हुन्छ । यस ठाउँमा नुहाउने हो भने अतिरिक्त ३०० रुपैयाँ तिर्नुपर्छ । सारै चिसो ठाउँ,  हामीले खाना खायौँ र यही रात बितायौँ ।
भोलिपल्ट
बिहानै ब्रेकफास्ट खाएर हामी उकालो यात्रामा अघि बढ्यौँ । आजको खाना लामा होटलमा खाने तय भयो । राम्ररी हिँड्नेलाई  लामा होटल पुग्न २ घण्टा लाग्ने रहेछ । तर हामीलाई भने ४ घण्टा लाग्यो । जङ्गल, भीर, बाटोमा खच्चड, भरिया, खेलाडी, विदेशी पर्यटकहरू भेटिरहने भएकाले यात्रा सहज नै हुन्छ । त्यहाँ खाना खाएपछि हाम्रो गन्तव्य लाङटाङ भ्याली थियो । घरी उकालो घरी ओरालो झर्‍यौँ । कतै भर्‍याङ चढ्यौँ, घरी खोला तर्‍यौँ । रमाइला र सुन्दर दृश्यमा रमाउँदै फोटो, टिकटक, रिल बनाउँदै, खेलाडीसँग गफिँदै, हिमाल हेर्दै गन्तव्यमा निरन्तर हिडि रहयौं । साँझको ८ बज्यो हिँडाइकै थकानका बिच हामी लाङटाङ भ्याली पुग्यौँ । हिमाली सभ्यताको जनजीवन, जनजातिको बाक्लो बस्ती ।
एकदमै नौलो र रमाइलो यहाँको हावापानी र परिवेशले हामीलाई ताजापन महसुस गरायो । वरिपरि ठुला हिमाल, भिरालो समथर भू बनोट । बाक्लो बस्ती । प्राकृतिक सौन्दर्यको त कुरै नगरौँ, लाङटाङ लिरुङ र तिब्बती संस्कृतिले प्रभावित गुम्बा र स्थानीय तामाङ समुदायको जीवनशैलीले यो ठाउँलाई विशेष बनाएको छ ।  हामी सनराइज होटलमा पुग्ने बित्तिकै मोबाइल, क्यामेरा चार्जमा जुट्यौँ । भर्खर बनाएको सुविधायुक्त होटल रहेछ ।
लामो दुरीको हिँडाई,  हिमाली हावापानीमा अभ्यस्त नभइसकेकाले कतिपय साथीलाई अलि गाह्रै भएको थियो । उच्च हिमाली भेगमा सायद धेरैलाई त्यस्तै हुन्छ । लेक लागेको भन्दै गफियौँ । सनराइज होटेलमा खाना पछि हामीलाई लाङटाङ भ्यालीमा तिब्बती शैलीमा भव्य स्वागत सत्कार गरियो । ११ बजे पछि सत्कार सकियो रात सनराईजमै बितायौँ ।
भोलिपल्ट विहान रोटी तरकारी खाएर हामी लाङटाङ भ्यालीलाई छाड्यौं । अबको हाम्रो गन्तव्य क्याङ्जिन गुम्बा थियो । चार घण्टा रस्साकसी हिँडाई पछि हामी क्याङ्जिन गुम्बा पुग्यौँ । तीन तीन जनाको ग्रुपमा विभिन्न होटलमा  विभाजित भयौं । करिब चार दर्जन घर होटलमा परिणत छन् । यहाँ प्याकेज सिस्टम छ । महंगो पनि छ । नेपाली एक जनाको १५०० रुपैयाँ । विदेशीको हकमा अर्डर अनुसार चार्ज रहेको छ । क्याङ्जिन गुम्बा हिमालको काखमा रहेकाले साह्रै सुन्दर छ । दुई तीन दिन देखि नखुलेको क्याङ्जिनका हिमाल संयोगले हामी पुगेकै दिन हिँउ पर्‍यो ।
कहिल्यै हिउँ नदेखेका र हिउँ नटेकेका साथीहरू खुब रमाए । मलाई यो एकदमै स्मरणीय क्षण बन्यो । धीत मरुन्जेल हिउँमा रमायौँ । समुद्री सतहबाट करिब ३,८५० मिटर उचाइमा अवस्थित यो गाउँ लाङटाङ ट्रेकको प्रमुख गन्तव्य हो । बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् भन्दै साथीहरू रेष्ट गर्न जुटे । राति हामी बसेको पानोरमा होटेलमा स्वागत गरियो । साँच्चिकै बिहान उठ्ने बित्तिकै रामकृष्ण ढकालको गीतमा भनेजस्तै हिमाल देख्न पाइयो । हामी सुतेकै ठाउँमा हिउँ पर्‍यो । बिहान सबेरै उठेर सबै हिउँमा खेल्यौँ ।
बागमती प्रदेश सरकारले यस ठाउँलाई  प्रवर्द्धन गर्न लाङटाङ फस्ट ट्रेल रन २०२५ आयोजना गरेको थियो । उक्त ट्रेल रनको उद्घाटन पर्यटन मन्न्रीले गर्ने भनेर तयारी भव्य रूपमा गरिएको थियो ।बिहान ट्रेल रन भयो । सुदर्शन आचार्य ग्लोबल टिभी, अंजीरसिंह विक नेपाल टेलिभिजन र पुष्पा साउँद युग प्रेस करिब १० बजे क्यान्जिङ रि टु को ४ हजार ८ सय मिटर चढ्न सफल भयौँ ।  निकै सकस भए पनि हिमाल चढ्दाको खुसी जीवनभरको स्मरण भयो । यो यात्रामा साथ दिने रसुवा(नुवाकोट पर्यटन समाजका गगन न्यौपाने, ऊर्जा तामाङ, रितु तामाङ, सुशील पौडेल, लुम्बिनी पर्यटन सञ्चार प्रतिष्ठान, क्याङ्जिन भ्यालीका स्थानी, खेलाडी, रूट गाइडलगायत सबैलाई धन्यवाद । अत्यन्त रमणीय भएकाले समय मिलाएर स्वर्ग भन्दा कम नभएको यश क्षत्रमा क्याजिङ घुम्न कन्जुस्याइँ नगरौँ ।
रसुवाको विशेषता
प्रसिद्ध तीर्थस्थल गोसाईंकुण्ड यश भूमिमा चीनको स्वशासित क्षेत्र तिब्बतबाट नेपाल प्रवेश गरी टिमुरे, गोल्जुङ, स्याफ्रु, धुन्चे, हाकु, गत्लाङ, राम्चे, डाडाँगाउँ, ठूलोगाउँ, लहरेपौवाहुँदै बेत्रावतीबाट नुवाकोट जिल्ला प्रवेश गर्ने भोटेकोसीले मन प्रफुल्लित पारेको पत्तै लाग्दैन ।
भोटबाट आएको भोटेकोसी स्याफ्रुवेंसीमा लामटाङ खोलामा मिसिएर धुन्चेमा पुगेपछि त्रिशूली नदीको नामले प्रवाहित हुन्छ भने लाङटाङ हिमालको हिमनदीको पानीबाट सुरु हुने लाङटाङ खोला ठाउँ ठाउँमा भीर पाखा, पखेरामा आफ्नो स्वरूप खोला, झरना हुँदै भोटेकोसीमा विलीन हुन्छ ।
चिलिमे खोला, मैलुङ खोला, नेसिङ खोला, घट्टे खोलालगायत स–साना असङ्ख्य खोलाले रसुवा सुन्दर बनेको छ । १० सिमसार क्षेत्र अन्तर्गत पर्ने गोसाईंकुण्ड धार्मिक र पर्यटकीय हिसाबले महत्त्वपूर्ण ताल पनि यसै जिल्लामा पर्छ । पार्वती कुण्ड, सूर्य कुण्ड, भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, जागेश्वर कुण्ड, दुधकुण्ड, रिभर कुण्ड जस्ता कुण्डै कुण्डको जिल्ला भएकाले पनि पर्यटकीय र धार्मिक आस्थाका केन्द्रको रूपमा रहेको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार ११ हजार १४० घरधुरीमा ४६ हजार ६ सय ८९ जनसङ्ख्या यहाँ बसोबास गर्दछ । यहाँ शेर्पा, घले, व्राम्हण, क्षेत्री, गुरुङ, मगर दमाई, कामी र नेवार जातिका मानिसहरू बसोबास गर्दछन् । तामाङ र नेपाली बाहेक यहाँका मानिसहरू तिब्बतीयन, शेर्पा, गुरुङ र नेवारी भाषा पनि बोल्दछन् । बहुसङ्ख्यकले बौद्ध धर्म मान्दछन् । बेत्रावती, कालिका स्थान, धुन्चे, स्याफ्रुवेशी, रसुवागढी टिमुरे आदि यस जिल्लाका प्रमुख व्यापारिक नाका तथा केन्द्रहरू हुन ।
२०७२ को भूकम्पपछि सञ्चालनमा आएको रसुवागढी नाका हाल नेपाल(चीन जोड्ने एक मात्र व्यापारिक नाका हो । काठमाडौँ(रसुवागढी नाका जोड्ने सडकको खस्किदोछ । हाईर्ड्रोहवका रूपमा विकास हुँदै गरेको यस जिल्लामा साना ठूला गरी १२ भन्दा बढी जलविद्युत आयोजना निर्माण भइरहेका छन् । चिलिमे जलविद्युत केन्द्र २२ मे।वा। ले उत्पादन कार्य गरिराखेको छ ।
विधुतको कुरा गर्दाका  यस जिल्लाबाट ६०० मे.वा.भन्दा बढी जलविद्युत उत्पादन भई ऊर्जा सङ्कटलाई केही हदसम्म समाधान गर्ने निश्चित छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.