पर्यटकीय गतिविधिमार्फत उपभोक्ताको जीवनस्तर सुधार्दै कुमरोज वन

रत्न नगर –  चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनले पर्यटकीय गतिविधिमार्फत भएको आम्दानीले स्थानीयको जीवनस्तरमा परिवर्तन आउन थालेको छ ।

यस वनले समुदायमा आधारित पर्या पर्यटनको गतिविधि सञ्चालन गर्दै आएको र पर्यटकलाई आकर्षण गर्न हात्ती सफारी, जिप सफारी, सीमान्तकृत दराई बोटे समुदायको प्रवर्द्धन गर्ने गरी दराई बोटे तालमा डुङ्गा सफारी र सोही तालमा माछा पालन गरी आयआर्जनमा सहयोग गरिएको वनका अध्यक्ष राजु सिलवालले जानकारी दिनुभयो ।

कुमरोज मध्यवर्ती सामुदायिक वनलाई अहिलेको अवस्थामा ल्याउन गरेको सङ्घर्ष सुनाउँदै उहाँले भन्नुभयो, ‘वनले जिप, हात्ती, डुङ्गा सफारी, पर्यटक प्रवेश शुल्क, मचान शुल्क, कफी सप जस्ता गतिविधिमार्फत गत आर्थिक वर्षमा चार करोड ५६ लाख आम्दानी गर्न सफल भएको छ ।’ आगामी आर्थिक वर्षमा सात करोड आम्दानी गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

उहाँले वनको आम्दानीबाट वन संरक्षण, सामाजिक विकास, पर्यटन व्यवस्थापन, मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरण, विद्यालय, मठ–मन्दिर, बाटो, सुत्केरीलाई अनुदान, किसानलाई दूधमा अनुदानलगायत जनचेतना कार्यक्रमहरूमा योगदान गर्दै आएको बताउनुभयो । उहाँले सबैको साथ र समन्वयबाट वनले अझै धेरै समुदायलक्षित कार्यक्रम गर्न लागेको जानकारी दिनुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसराका वरिष्ठ संरक्षण अधिकृत डा। गणेश पन्तको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा डा। पन्तले कुमरोज मध्यवर्ती सामुदायिक वनको गुणात्मक प्रवर्द्धन गर्न आवश्यक रहेको बताउँदै स्थानीय सरकारसँग आवश्यक समन्वय गरी मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न ‘रोल मोडल’का रूपमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

समुदायमा आधारित पर्या पर्यटनमा अग्रणी भूमिका निर्वाह गरेकोमा वन समूहप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा प्रविधिको प्रयोग गरी अनलाइन टिकट र जिपिएस प्रणालीबाट अनुगमन गर्ने गरी चालकका कमीकमजोरी नदोहरिने गरी काम गर्नसमेत वर्तमान कार्यसमितिसँग आग्रह गर्नुभयो । मध्यवर्ती क्षेत्रको नीतिगतरुपमा समस्या समाधान गर्नुपर्ने अवस्था रहेको बताउँदै डा। पन्तले कुमरोजको संरक्षण र विकासका लागि समन्वय र सहजकर्ताको भूमिकाको लागि निकुञ्ज प्रशासन सधैँ तयार रहेको उल्लेख गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष वसन्त पराजुलीले कुमरोज मध्यवर्ती सामुदायिक वनले संरक्षण सँगसँगै समुदायमा आधारित पर्या पर्यटनमा गरेको योगदान उदाहरणीय रहेको र पर्यटकलाई आकर्षण गर्ने खालका गतिविधि थप गर्न आग्रह गर्नुभयो । उहाँले पर्यटनमैत्री सवारीसाधनलाई प्राथमिकता दिँदै आलोपालो प्रणालीबाट जिप सफारी गराउन सके अझै प्रभावकारी हुने बताउनुभयो।

कार्यक्रममा खैरहनी–१३ का वडाध्यक्ष कुलप्रसाद भुसालले सौराहाको पर्यटन व्यवसाय अहिले सङ्कटमा रहेको उल्लेख गर्दै साँघुरो मन नगरी सौराहाको संरक्षण र प्रवर्द्धनका लागि कुमरोजसँग सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो ।

यस्तै, खैरहनी–१२ का वडाध्यक्ष केदारनाथ पन्तले पर्यटन प्रवर्द्धनका सवालमा सिङ्गो चितवनले लाभ लिने गरी सरसफाइ, सुरक्षा, संरक्षण र पर्या पर्यटनमा एकजुट हुनुपर्नेमा जोड दिनुभयो । पर्यटनको प्रवर्द्धनका लागि पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने भएकाले प्रचारप्रसारमा सकारात्मक सञ्चार हुने गरी भूमिका खेल्न उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ चितवनका कार्यसमिति, वन समूह तथा संरक्षणकर्मीहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा खैरहनी–१२, घोग्रेलास्थित दराई सामुदायिक होमस्टेको अवलोकन गराइएको थियो । सो होमस्टेका लागि स्थानीय वडा कार्यालय र वनले सहयोग र संरक्षण गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.