कविता- बच्चालाई बच्चा हुन देऊ

भन्छौँ कति धेरै कुरा जानेका, ठुला मान्छे झैँ
कति बाठा ऐलेका बच्चाबच्ची सानै बेला मै ।
ठुला मान्छे जस्तै भन्दा तिनलाई ठुलै हुन मन लाग्ला
बच्चा हुन छाडेर ठुलै हुने रहर जाग्ला ।
खेल्ने, कुद्ने, उफ्रिने, दंगलाउने बच्चा भएरै गर्यात हो नि
चकचक, बिठ्याइँ सबै बच्चाले त हो गर्नी ।
सोच न गल्तीलाई सच्चाउँदै, सिक्दै बढ्ने हुन्, गल्ती नगरी कसरी सिक्लान् र
सोच त, रोइदिने, रिसाउने, कराउने, दंगलाउने ठुलोले गरेको सुहाउला र ?
अरे ठुलो भएसी त समाजको दौड र मापदण्डमा आफूलाई तेर्साउनै पर्छ नै
ऐले गल्ती गर्दा सिक्ने अवसर देऊ न, अभिभावक हो कमसेकम बिचरा ती बच्चालाई बच्चा मै ।
बच्चालाई डर र त्रास देखाउनै भनेर नबुझी गल्ती पो गरेका छौ कि
डर र त्रास देखाएसि कसरी बनुँला तिमि उनका साथी ।
हेर त सानो कुरामा नि रमाउन जानेका, उजेलिन्छौँ तिमि, तिनीहरूले मुस्कान छर्दा
हाँसो छर्ने बहाना छोट्टिएका थाहा पायौ होला तिमीले आफु ठुलो हुँदै गर्दा ।
त्यसैले बिन्ती छ, ती स–साना बहानाहरूमा खुलेर हाँस्न देऊ न
त्यसैले बिन्ती छ ,बच्चालाई बच्चा मै बच्चा भएर बाँच्न देऊ न ।
त्यसैले बिन्ती छ, ती स–साना बहानाहरूमा खुलेर हाँस्न देऊ न
त्यसैले बिन्ती छ, बच्चालाई बच्चा मै बच्चा भएर बाँच्न देऊ न ।
ती अस्वास्थ्य मापदण्डलाई नियम भनेर बच्चामा लागु गर्ने अभिभावक सबै
सजिलै सुधार्छन् कि गल्ती, सिकाई त हेर बच्चालाई बच्चा भएरै ।
पुलपुलिन चाहन्छन् तिनी मायाका नि भोका धेरै
बिन्ती छ नखोस तिनका सुनौला खुसी सबै एका–एक गरी बच्चामै ।
स्वास्थ्य नियम र दायरा तय गरे बच्चाले नि सजिलै भनेको मान्लान्
आफैले ती नियम तोड्दा फेरी नियम तोड्नै पर्ने रैछ भनठान्लान ।
सोच है ठुलो बनाउने होडबाजीमा तिम्रा साना बच्चा, हेर बच्चै हुन नपाउलान
पछि ठुलो भएसी आफ्ना बच्चामा पनि फेरी ती खराब नियम दोहोराउलान ।
ठुलो मान्छे भन्दा पनि असल मान्छे बनाउन लगानी लगाउने कि
संसार यसै जित्छन् तिनले बस खुसी भएर बाच्ने तरिका सिकाउने कि ।
फेरी ठुलो भएसी तिमीले उनीहरुलाई बच्चा बनाउन खोज्छौँ ठ्याक्कै उल्टो गरेर
सिकाऊ जीवन उपयोगी सिख र सिपहरू, जुन सिक्दैनन् बच्चाले स्कुलमा गएर ।
फेरी त्यो बेलानी गुनासो गर्छौँ भन्छौँ
ठुलो भए नि के गर्ने छोरा छोरी बच्चा जस्तै छन् ।
उमेर सुहाउँदो दायित्व निभाए र निभाउन सिकाए
ती बच्चा पनि उमेर सुहाउँदो हुर्केलान् ।
सानो जितमा उत्सव मनाइदेऊ तिनका
साना ठुला हरमा तिम्रो साथ र हौसला सादा रहोस् ।
तिमि संसार हो उनका, तिमीलाई हेरेर सिक्ने हो
त्यसैले तिनलाई सिकाउने र गर्ने तिम्रो तरिका कदापि उल्टो नहोस् ।
आशा धेरै ठुलो नगर, बस तिम्रो दायित्व हो
असल संस्कार सिकाउन ।
उनका कथाका आफै कथाकार बनुन्
बस हौसला र साथ देऊ उनैलाई त्यो कलम समाउन ।
रङ्गिन बनाउन चाहन्छौँ भने उनका जीवन
ती सारा भावनाहरू बाट्ने असल साथी बन ।
बच्चा भएर बुझ्ने कोसिस गर तिनका गुनासाहरू
कहिलेकाहीँ अभिभावक नबनी कन ।।
रोशनी खड्का प्याकुरेल– हाल–मेलबर्न भिक्टोरिया, अस्ट्रेलिया बस्नुहुन्छ
प्रतिक्रिया राख्नुहोस्