अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा विभिन्न शहरमा कार्यक्रम आयोजना

काठमाडौँ -अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौँस्थित भारतीय राजदूतावास र वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले काठमाडौँ, पोखरा, लमजुङ, लुम्बिनी, जनकपुर, चितवन, वीरगन्ज, हेटौँडा, रौतहट र बरियारपुर लगायत नेपालका विभिन्न शहरमा कार्यक्रम आयोजना गरेको छ ।

यस वर्षको ‘एक पृथ्वी, एक स्वास्थ्यको लागि योग’ भन्ने विषयवस्तु अनुरूप अन्तर्राष्ट्रिय योग दिवस २०२५ आउन ७५ दिन अगावै भारतीय राजदूतावासले २०८१ चैत्र २५ गते पशुपतिनाथ मन्दिरमा योग प्रदर्शनसहितको एक शुभारम्भ कार्यक्रमको आयोजना गरेको थियो । भारतीय सेनाका पूर्व सैनिकहरूको सक्रिय सहभागितामा अन्तर्राष्ट्रिय योग दिवस २०२५ आउन ५० दिन अगावै भारतीय राजदूतावासले २०८२ वैशाख १९ गते काठमाडौँस्थित ईसीएचएस पोलिक्लिनिकमा योग सत्र सञ्चालन गरेको थियो ।

त्यस्तै २०८२ जेठ १३ गते काठमाडौँको नेपाली सेना मुख्यालय मैदानमा योग सत्र आयोजना गरिएको थियो । त्यस्तै २०८२ जेठ ३० गते काठमाडौँको केन्द्रीय विद्यालयको परिसरमा काठमाडौँका विभिन्न विद्यालयका १५० भन्दा बढी विद्यार्थीहरूको सहभागितामा योग सत्र आयोजना गरिएको थियो ।

यसै गरी भारतीय राजदूतावासले २०८२ असार १ गते काठमाडौँस्थित अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को मुख्यालयमा योग सत्र आयोजना गर्न इसिमोडसँग साझेदारी गरेको थियो ।

योगको उत्सवलाई निरन्तरता दिँदै भारतीय राजदूतावासले २०८२ असार ६ गते पोखराको फेवा तालको शान्त किनारमा एक बृहत् स्तरको योग र ध्यान सत्रको आयोजना गरेको थियो । ५०० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको उक्त कार्यक्रमले मानव चेतनालाई प्रकृतिसँग जोड्ने योगको गहन क्षमतालाई प्रकाश पारेको थियो ।

२०८२ असार ६ गते भारतीय राजदूतावासले लुम्बिनीस्थित लुम्बिनी विकास कोषमा एक बृहत् स्तरको योग प्रदर्शन आयोजना गर्‍यो जसमा ५०० भन्दा बढी योगमा अभिरुचि राख्नेहरूको सहभागिता थियो । उक्त कार्यक्रममा लुम्बिनीका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती र युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरी उपस्थिति हुनु भएको थियो ।

भारतीय राजदूतावासले आयोजना गरेको अन्तर्राष्ट्रिय योग दिवस समारोहको मुख्य आकर्षण पोखरा महानगरपालिकासँगको सहकार्यमा शनिबार पोखराको रंगशालामा आयोजित भव्य योग प्रदर्शन थियो । उक्त कार्यक्रममा त्यस क्षेत्रभरिका ७००० भन्दा बढी योग अभ्यासकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो र साथै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य पनि यसमा सहभागी हुुनु भएको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.