ब्रिटिसगोर्खा सैनिकको इतिहास गर्व गर्न लायक छः सभापति देउवा

पाटन – पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ब्रिटिसगोर्खा सैनिकको इतिहास गर्व गर्न लायक भएको बताउनुभएको छ । ब्रिटिसगोर्खा नागरिक निरन्तरता अभियान समितिद्वारा आज ललितपुरमा आयोजित वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञावालीद्वारा लिखित सुगौली सन्धि र नेपालमा नागरिकताः ब्रिटिसगोर्खा वंशजको नागरिकता निरन्तरता पुस्तक विमोचन कार्यक्रममा उहाँले ब्रिटिसगोर्खा सैनिकको साहस, मेहनत, प्रतिबद्धता र अनुशासनको विश्वभर प्रशंसा हुने गरेको बताउनुभयो ।

“गोर्खा सैनिकले प्रथम तथा दोस्रो विश्वयुद्धमा बहादुरीका साथ लडाइँ लडी बेलायत सरकारलाई ठूलो सहयोग पुरÞ्याएका थिए, आज पनि नेपाली ब्रिटिस सेनामा सेवा गरिरहेका छन्, आज नेपाल र बेलायतबीचको एउटा महत्वपूर्ण सम्बन्धको रूपमा गोर्खा फौज स्थापित भएको छ ।” सभापति देउवाले भन्नुभयो ।

उहाँले ब्रिटिसगोर्खा सैनिकले समान पेन्सनलगायत आफ्ना अधिकारका विषयमा आवाज उठाउँदै आएका बताउँदै उहाँले ब्रिटिसगोर्खा सैनिकलाई बेलायती सैनिक सरह सुविधा दिनुपर्छ भन्ने नेपाल सरकारको धारणा बेलायतका अधिकारीहरुसँग आफूले राखेको जानकारी गराउनुभयो ।

“म ब्रिटिसगोर्खाहरुले त्यहाँका अरु सैनिक सरहनै सेवा तथा सुविधा पाउनुपर्छ भन्नेमा स्पष्ट छु, ब्रिटिस गोर्खा सैनिकहरुले उनीहरुको नेपाली नागरिकताको निरन्तरताको माग उठाइरहनु भएको छ, यस विषयमा राजनीतिक दलहरुले छलफल गरेर निष्कर्षमा पुग्नुपर्छ भन्ने मेरो मान्यता छ ”, सभापति देउवाले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष डा बाबुराम भट्टराईले विश्वको परिस्थितिअनुसार नेपालको नागरिकता दिने व्यवस्थालाई उचित व्यवस्थापन गरिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाल नेपालमा बाबुको नामबाट मात्रै नभएर बच्चाले चाहेअनुसार बाबुआमाको नामबाट नागरिकता लिन सक्ने व्यवस्था भएको बताउनुभयो ।

पुस्तकका लेखक ज्ञवालीले ब्रिटिसगोर्खामा भर्ना भई त्यस देशको मानार्थ नागरिक भएका आधारमा नेपालको वंशजको नागरिकताबाट उनीहरूलाई वञ्चित गरिन हुँदैन भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.