तामाकोशीमा निर्माणाधिन पक्की पुल फेरि भाँचियो

रामेछाप – रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ६ र वडा नं ७ जोड्ने ठेडिखोला नजिकैको तामाकोसी नदिमा बनेको मोटरेबल पक्की पुल फेरि भाँचिएको छ ।
निर्माणको अन्तिम चरणमा पुगेको उक्त पुल आइतबार बिहान भाँचिएको हो । यस अगाडि उक्त पुल गत बैशाख २५ गते भाँचिएको थियो ।
वैशाख महिनामा पुलको केही भाग मात्र भाँचिएको भए पनि अहिले भने पुलको चार वटा स्पान मध्ये बिचको स्पान पुरै भुईँमा खसेको छ । सडक विभागले २२ करोड ५५ लाखको लागतमा निर्माण गरिरहेको उक्त पुलको अन्तिम स्पान भाँचिएको छ ।
कालिका – कल्पवृक्ष जेभि निर्माण कम्पनीले निर्माण कार्य गरिरहेको उक्त पुल २ सय ३० मिटर लामो रहेको छ । गत वैशाख महिनामा भाँचिएको स्पानको मर्मतको काम भइरहेको बेला सोही स्पान फेरी पूर्ण रूपमा भाँचिएको हो ।
०७८ सालबाट निर्माण सुरु गरिएको उक्त पुल यही असार मसान्त सम्ममा सक्ने गरी निर्माण भइरहेको थियो । ४ वटा स्पान भएको सो पुलको चौँथो स्पान भाँचिएको हो ।
पुल भाँचिनुको कारण थाहा भएको छैन । निर्माण कम्पनीले पुल भाँचिनुको कारणका बारेमा प्राविधिक टोली ल्याएर परीक्षण गर्ने बताएको छ । उक्त पुल निर्माण पछि रामेछापको मन्थलीबाट काठमाण्डौं र तराई जानका लागि छोटो दुरी पर्दछ ।






प्रतिक्रिया राख्नुहोस्