पाल्पाको रिब्दीकोटको बजेट कृषिमा प्राथमिकता: एक बोट सयको नोट

पाल्पा- पाल्पाको रिब्दीकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५३ करोड ८३ लाख ५४ हजार बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँ सभाको १८ औँ अधिवेशनबाट पारित बजेटमा भौतिक पूर्वाधार भन्दा कृषिलाई प्राथमिकतामा राखिएको छ । बजेटमा प्रस्तुत गर्दै उपाध्यक्ष कान्ता अधिकारीले कृषि तथा पशुपालन, पर्यटन विकास जस्ता विषयमा बजेट विनियोजन गरेको बताउनुभयो ।
चालु आर्थिक वर्षको तुलनामा दुई करोड ७० लाख ९७ हजार कम बजेट सार्वजनिक भएको बताउँदै गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले भौतिक पूर्वाधार भन्दा नागरिकको जीवनस्तर उठाउने गरी नीति तथा कार्यक्रम बनाएर बजेट ल्याइएको बताउनुभयो । अध्यक्ष कार्कीले एक टोल एक बगैँचा निर्माणका लागि एक बोट सयको नोट कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।
मोडेल फर्महरू निर्माण गर्नका लागि यो योजना अघि सारेका छौँ अध्यक्ष कार्कीले भन्नुभयो, कृषि क्षेत्रमा वन्यजन्तुले दिएको समस्या समाधान गर्नका लागि फलफूलजन्य र जडिबुटीजन्य वनस्पतिको रोपण अभियानलाई प्राथमिकतामा राखेर कम्तीमा ५० देखि १०० वटा बोट लगाएर बगैँचा निर्माण गर्ने किसानलाई अनुदान दिने र त्यही बगैँचाबाट उनीहरूलाई आयस्रोत बढाउने योजना रहेको छ । एउटा टोलमा पाँच हजारदेखि १० हजारसम्म बोट लगाएमा आगामी पाँच आगामी पाँच वर्षमा कम लागतमा बढीभन्दा बढी आम्दानी गर्न सक्ने बनाउने योजना पालिकाको रहेको अध्यक्ष कार्कीले बताउनुभयो । आउने वर्षदेखि एउटा वडामा कम्तीमा पाँच हजार बिरुवा रोपण गर्ने योजना रहेको र सोको लागि पालिकाले अनुदानको व्यवस्थापन गर्ने अध्यक्ष कार्कीको भनाइ छ ।
पालिकाले कृषिसँगै पशुपालन तथा पर्यटन प्रवर्धनका लागि योजना अघि सारेको छ । यस्तै पालिकाभित्रका अति विपन्न, दलित र ग वर्गका अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम, अकबरे खुर्सानी, टनेल खेती, एक टोल एक उत्पादन कार्यक्रम, खनौँ आफ्नो माटो छोडौँ विदेशको बाटो, बाझो जग्गालाई प्रयोग गरी कृषि गर्नेलाई विशेष अनुदानको व्यवस्था गरेको अध्यक्ष कार्कीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्