नेपाल – भारत द्विपक्षीय सुरक्षा परामर्श समूहको बैठक भारतको पुणेमा सम्पन्न

काठमाडौँ – नेपाल र भारतबिचको सोह्रौँ नेपाल – भारत द्विपक्षीय सुरक्षा परामर्श समूह (आइएनबिसिजिएसआई) को बैठक २०८२ असार ९ र १० गते (जुन २३–२४, २०२५) भारतको पुणेमा सम्पन्न भएको छ ।

बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखाका सहसचिव गहेन्द्र राज भण्डारीले गर्नुभएको थियो भने   भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारत सरकारको विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुनु महावरले गर्नुभएको थियो।

बैठकमा दुवै देशका विदेश र रक्षा मन्त्रालयका अधिकारीहरू, साथै भारतीय सेना र नेपाली सेनाका निर्देशकस्तरका प्रतिनिधिहरू सहभागी थिए।

बैठकमा दुवै पक्षबिच सुरक्षा र रक्षा सहयोगका विविध विषयहरूमा गहन र सकारात्मक छलफल भयो। छलफलका प्रमुख विष्यहरु सैन्य उपकरण आपूर्ति, तालिम आदानप्रदान, संयुक्त सैन्य अभ्यास, विपद् व्यवस्थापन सहयोग तथा सैनिक आदानप्रदान थिए।

बैठकका क्रममा प्रतिनिधिमण्डलहरूले पुणे स्थित सरकारी र निजी क्षेत्रका प्रमुख रक्षा उद्योग इकाईहरूको अवलोकन गरे। यसले सहकार्यमा आधारित रक्षा उत्पादन, प्रविधि हस्तान्तरण तथा सह–उत्पादनका सम्भावनाहरूको पहिचान गर्ने अवसर प्रदान गरेको भारतको विदेश मामिला मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दुवै पक्षले सामूहिक सुरक्षा हितको रक्षा, आपसी विश्वास अभिवृद्धि तथा समयानुकूल सुरक्षा चुनौतीहरूको व्यवस्थापनमा उच्चस्तरीय समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो।

सन् २००३ मा स्थापना गरिएको आइएनबीसीजीएसआइ  द्विपक्षीय सुरक्षा र रक्षा सहयोग समन्वय गर्नका लागि भारत–नेपालबिचको मुख्य संस्थागत संयन्त्र हो। यस पटकको बैठकले सैनिक सम्बन्ध सुदृढ गर्न र रक्षा सहकार्यको नयाँ दिशा तय गर्न थप आधार तयार पारेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.