ज्येष्ठ नागरिक एकल महिला सम्मानित

नुवाकोट- नुवाकोटको बट्टारमा ज्येष्ठ नागरिक एकल महिलाहरू सम्मानित भएका छन् । सामाजिक विकासमा जोड दिँदै उनीहरूलाई सम्मानित गरिएको हो ।
१५ औ अन्तर्राष्ट्रिय एकल महिला दिवसको सन्दर्भमा विदुर नगरपालिकामा रहेका ४ जना ज्येष्ठ नागरिक एक महिलाहरूलाई सम्मानित गरिएको हो । एकल महिला नुवाकोटको आयोजना तथा विदुर नगरपालिकाको सहयोगमा उनीहरूलाई सम्मान गरिएको हो ।
सम्मानित हुने एकल ज्येष्ठ नागरिकहरूमा विदुर नपा ४ की ८९ बर्सिया जगकुमारी खड्का, विदुर ६ की ओमकुमारी पराजुली, विदुर ४ की ८२ बर्सिया भुवनेश्वरी ओझा र विदुर ४ कै ७८ बर्सिया कल्पना ढुङ्गेल रहेका छन् । उनीहरूलाई मानव अधिकारका लागि महिला, एकल महिला समूह बागमती प्रदेशका अध्यक्ष देबकी पौडेल र नुवाकोटकी अध्यक्ष गंगा बोगटीले दोसल्ला ओढाउनुका साथै सम्मान पत्रद्वारा सम्मानित गर्नुभयो ।
दिवसकै अवसरमा विदुर नगरपालिकाभित्र रहेका एकल महिलाहरूलाई महिला अधिकार र एकल महिला सुरक्षा कोष सम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत गरिएको छ । अन्तर्राष्ट्रिय एकल महिला दिवस नुवाकोटमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको हो ।
‘मानव अधिकारका लागि महिला: एकल महिला समूह’ नुवाकोटकी अध्यक्ष गङ्गा बोगटीले सरकारले एकल महिलाको अधिकार सुनिश्चित कागजमा मात्रै गरेको बताउनुभयो । उहाँका अनुसार एकल महिलाको अवस्थाबारे गरेको अध्ययन पत्रको निष्कर्षमा एकल महिलाको मानव अधिकार खोसिँदै गएको उल्लेख छ ।
एक तथ्याङ्क अनुसार नुवाकोटमा करिब १२ हजार एकल(विधवा) महिलाहरू रहेको जनाइएको छ । सरकारले अहिलेसम्म पनि एकल महिलाका लागि कुनै पनि स्थानमा कोटाको व्यवस्था नभएको एकल महिलाहरूले गुनासो गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्