सीप विकास तालिम प्राप्त सहभागीहरूसँग उद्यमशीलता परामर्श कार्यशाला सम्पन्न

 गुल्मी – सीप विकास तालिम प्राप्त व्यक्तिहरूसँग अन्तरक्रिया तथा उद्यमशीलता परामर्श कार्यशाला गुल्मीको इस्मामा सम्पन्न भएको छ ।
उद्यमशीलता प्रवर्द्धन तथा सीपलाई उत्पादनमूलक क्षेत्रमा रूपान्तरण गर्ने उद्देश्यका साथ सीप विकास तालिम प्राप्त सहभागीहरूसँग उद्यमशीलता परामर्श गरिएको हो ।   कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा तथा इस्मा गाउँपालिकाको समन्वयमा उद्यमशीलताको क्षेत्रमा स्थानीय स्तरमा सशक्तीकरण र प्रोत्साहन दिन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास कार्यक्रम गरिएको थियो ।
 जिल्लाका विभिन्न पालिका तथा वडाबाट सहभागी भएका सीप विकास तालिम प्राप्त व्यक्तिहरू, स्वरोजगार युवा र उद्यमशील कृषकहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यशालामा सहभागीहरूले आफ्ना अनुभव, समस्या र सम्भावनाहरू प्रस्तुत गरेका थिए ।  कार्यक्रमका घरेलु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता त्रिविक्रम ज्ञवालीले सफल उद्यमी बन्नका लागि आवश्यक गुण, चुनौती र अवसरबारे विस्तृत प्रस्तुति दिएका थिए । उद्यमशीलताको अवधारणा, व्यवसाय सुरुआत गर्नुपर्ने पूर्व तयारी, लगानीको व्यवस्थापन, बजार पहिचान, जोखिम न्यूनीकरण, ग्राहक सन्तुष्टि, नवीन सोच र दीर्घकालीन योजनाबद्धताका पक्षमा विशेष जोड दिइने घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख राजीव अर्यालले बताउनुभयो ।
 
इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले तालिम र परामर्शका माध्यमबाट युवाहरूलाई आत्मनिर्भर र स्वरोजगार बन्न प्रेरित गर्न पालिकाले आगामी दिनमा थप कार्यक्रमहरू सञ्चालन गर्ने जानकारी गराउनु भयो । तालिमप्राप्त युवाहरूलाई स्थानीय तहबाट आवश्यक सहयोग र सहजीकरण हुँदै आएको बताउनुभयो ।    तालिमपछि उद्यम सुरु गर्न चाहने युवाहरूलाई सञ्जाल विस्तार, परामर्श र सरकारी सेवा–सुविधाहरूको पहुँचमा पुर्‍याउने उद्देश्य राखिएको कार्यालय प्रमुख राजीव अर्यालले बताउनुभयो । कार्यशालाले जिल्लामा उद्यमशील वातावरण निर्माण, सीपको सदुपयोग तथा स्थानीय उत्पादनमा वृद्धि गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको अर्यालको भनाइ छ । एकपटक तालिम लिएका कृषकहरूको अनुभव आदानप्रदान गर्ने उद्देश्यले कार्यालयले रेसुङ्गा नगरपालिका, इस्मा गाउँपालिका, धुर्कोट गाउँपालिका, मुसिकोट नगरपालिका, मालिका गाउँपालिकाका कृषकहरूसँग कार्यक्रम गरेको हो ।
 कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य सुनिता जिसीसहित, रेसुङ्गा, इस्मा, धुर्कोट गाउँपालिकाका वडाअध्यक्षहरुले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.