मनाङलार्ई चिनाउने प्राकृतिक कथा

मनाङलाई नेपालको हिमाली भूगोलको एक अमूल्य रत्नको रूपमा लिन सकिन्छ । गण्डकी प्रदेशको सुदूर उत्तरमा अवस्थित यस जिल्ला केवल भौगोलिक रूपमा अनौठो मात्र होइन । धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्र यहाँको पहिचान हो । अन्नपूर्ण पदमार्ग, थोराङला, तिलिचो ताल, तिब्बतीय र गुरुङ संस्कृतिले मनाङलाई चिनाउँदछ ।

जसले नेपालभित्रै एउटा पृथक् विश्वको पहिचान बनाएको छ । दुई हजार दुई सय ४६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको मनाङ समुद्री सतहबाट एक हजार ६८० मिटरदेखि आठ हजार १८३ मिटर उचाइ समेटिएको छ । यहाँको प्राकृतिक परिवेश, वनस्पति, वन्यजन्तु, मौसम र मानवीय बस्ती, सबै क्षेत्रको फरकपनाले आनन्दित तुल्याउँछ ।

उचाइको भिन्नताले नै मनाङलाई एकै समयमा उपत्यका र पर्वत दुवैको अनुभूति दिलाउँछ । पूर्वमा गोरखा र लमजुङ, पश्चिममा मुस्ताङ र म्याग्दी, दक्षिणमा कास्की र उत्तरमा तिब्बतसँग जोडिएको मनाङको सिमानाभित्र एउटा आत्मालाई स्पर्श गर्ने सौन्दर्ययता लुकेको छ । यहाँ प्रकृति र अध्यात्मसँगसँगै बाँचेका छन् ।

यहाँको चिसो बतासमा हिमाली आत्मीयता मिसिएको छ । जिल्लाका चार पालिकाहरू नासों, चामे, नार्पाभूमि र मनाङ ङिस्याङ यस जिल्लाका प्रशासनिक संरचनाको आधार हुन् । यी पालिकाहरू साबिकका १३ गाउँ विकास समितिलाई समेटेर बनाइएका हुन् । प्रत्येक पालिका आ–आफ्नै खालको भौगोलिक र सांस्कृतिक सम्पदामा धनी छ । नासो गाउँपालिका जिल्लाकै प्रवेशद्वारको रूपमा परिचित छ । चामे सदरमुकाम हो भने नार्पाभूमि र मनाङ ङिस्याङ साहसिक यात्राको आधार स्थल हुन् ।

यहाँ विशेष गरी गुरुङ, लामा, घले र भोटे समुदायको बसोबास छ । यिनीहरूको भेष भूषा, रहनसहन, बोलीचाली र परम्परामा तिब्बती प्रभाव छ । तिब्बती संस्कृति र बौद्ध परम्पराले यहाँको समाजलाई एकापसमा जोडेको छ । गुम्बा, छोर्तेन, मठ र मूर्तिहरू केवल पूजाको केन्द्र होइनन्, तिनीहरू समयको साक्षी हुन् ।

टासी लाखाङ गुम्बा, गुरु रिन्पोचेको ६४ फिट उचाइको मूर्ति, मिलेरेपा गुफा र स्मृति पार्क जस्ता स्थलहरूले धार्मिक आस्थालाई जगेर्ना मात्र नगरेर पर्यटनको सम्भावनालाई पनि जीवित राखेका छन् । मनाङको भूगोल केवल साहसिकताको प्रतीक होइन, यो अध्यात्मको मैदान पनि हो । ४९१९ मिटर उचाइमा रहेको तिलिचो ताल विश्वकै अग्लो स्थानमा रहेको ताल मानिन्छ ।

यस ताल संसारभरका पर्यटकको आकर्षणको केन्द्र हो । थोराङ–ला पास (५४१६मिटर), आइसलेक (४६२०मिटर), गङ्गापूर्ण ताल, कजिसारा (सिङ्गर ताल), मुनलेक, छिन्दी ताल, ग्रिन लेक, पोङ्कर ताल, ड्रोना ताल, तातोपानी कुण्ड यी सबैले मनाङलाई स्वर्ग जस्तो बनाएका छन् । यहाँका ताल र कुण्ड केवल दृश्य होइनन्, ती आत्मा स्नान गर्ने तीर्थस्थल हुन् ।

मनाङको पर्यटकीय मार्गमध्ये अन्नपूर्ण सर्किट विश्व प्रसिद्ध छ । नार र फु जस्ता दुर्गम गाउँहरू जोड्ने काङ्ला पास पदमार्गमा यात्रा गर्नु भनेको प्रकृतिसँग आत्म समर्पण गर्नु हो । यहाँको यात्रा केवल शारीरिक साहस होइन ।

मानसिक रूपान्तरण पनि हो । काङ्ला पास, मेसोकान्त पास, लार्के पास, थोराङला पास यी सबै पर्वतीय मार्गमा हिँड्ने हरेक पाइलाका एउटा कथा हुन् । पदयात्रा मात्र होइन, यहाँ धार्मिक कथा र किंवदन्तीले भरिएका स्थलहरू पनि छन् । मिलेरेपाको भूमि जहाँ सिकारी बम आले र उनको कुकुर, मृगसहितको सिकारले तपस्वीसँग आत्म साक्षात्कार पाए भन्ने जनविश्वास छ । यहाँको आध्यात्मिक गहिराइलाई बुझ्न पर्याप्त छ । तिलिचो ताललाई पौराणिक कथनमा काल भुसुण्डीको ध्यान स्थल मानिन्छ ।

यस्तो पवित्रतामा रम्न, श्रद्धा र रोमाञ्चक दुबै चाहिन्छ । मनाङ केवल दृश्यको खानी मात्र होइन । यहाँको हावामा सांस्कृतिक चेतना गुन्जिएको छ । गुरुङ संस्कृतिमा आधारित गाउँहरूमा होमस्टेमा बसेर पाहुनाले नेपाली आतिथ्य संस्कृतिको चरम अनुभव गर्न सक्छन् । यहाँका चाडपर्व, तिब्बती भेष भूषा, घुम्ने प्रार्थना चक्रहरू र मन्त्रोच्चारणले प्रत्येक दिनलाई जीवन्त बनाउँछ । तर यहाँ सबै सहज छैन ।

नार, फु, च्याँखु जस्ता दुर्गम क्षेत्रहरू अझै सडक सञ्जालसँग जोडिन सकेका छैनन् । हिउँदमा चिसो र हिमपातले जनजीवन कष्टकर हुन्छ । तापनि, त्यही कष्टमा पनि मुस्कान छ ।

त्यो मुस्कानले नै पर्यटकलाई आकर्षण गर्दछ । यो स्थानमा आउने पर्यटकले केवल दृश्य नभई भावना पनि बोकिरहेका हुन्छन् । मनाङको प्रकृति केवल रमाइलो दृश्यको लागि मात्र होइन ।

यो जलवायु परिवर्तनको अध्ययनको लागि पनि प्रयोगमा ल्याउन सकिन्छ । गङ्गापूर्ण तालको तापक्रममा आएको परिवर्तनले वैज्ञानिकलाई आकर्षित गरेको छ । हिमनदी पग्लन थालेपछि पर्यावरणीय चेतना दिनुपर्ने आवश्यकता अझ बढेको छ ।

सरकार, गैरसरकारी सङ्घसंस्था र स्थानीयवासी मिलेर यी सम्पदाको संरक्षण, प्रवर्द्धन र दिगो व्यवस्थापनमा लाग्नु अत्यावश्यक छ । पर्यटनबाट आउने आम्दानीलाई स्थानीय जीवनस्तर सुधार्न प्रयोग गर्न सकियो भने मनाङ आफैँमा आत्मनिर्भर बन्न सक्छ । मनाङको महत्त्व केवल यति भएर होइन कि यो सुन्दर छ । यो महत्त्व त्यस कारण पनि हो किनभने यसले नेपाललाई विश्वसामु चिनाउने पहिचान बनाएको छ । यहाँको हरेक माटोमा राष्ट्रको आत्मा झल्किन्छ । आन्तरिक र बाह्य पर्यटकको आकर्षण बनेको यो भूमि भविष्यमा नेपालको पर्यटकीय मेरुदण्ड बन्न सक्छ ।

मनाङ—जहाँ श्वास फेर्दा हिमाल नजिक आउँछ, जहाँ हिँड्दा कथा बोकेको भूमि पाइन्छ, जहाँ हरेक दृश्य जीवन्त चित्रझैँ लाग्छ । यो भूमि मात्र होइन, अनुभव हो । स्वर्गको अनुभूति यही पृथ्वीमा लिन चाहनेका लागि मनाङको सौन्दर्ययताले आमन्त्रण गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.