सामाजिक सुरक्षा भत्ता नवीकरणको लागि पहिलो पटक काठमाडौँमा शिविर सञ्चालन

नुवाकोट-  वृद्ध वृद्धा तथा अशक्तहरूको सुविधाका लागि नुवाकोटको बेलकोटगढी नगरपालिकाको एउटा वडामा काठमाडौँमा सेवाग्राही खोजिरहेको छ । सामाजिक सुरक्षा भत्ता लिने व्यक्तिहरूको सहजताका लागि बेलकोटगढी नपा २ ले सामाजिक सुरक्षा भत्ता नवीकरणको लागि पहिलो पटक काठमाडौँमा शिविर सञ्चालन गरेको छ ।

उक्त वडाबाट काठमाडौँ छोटो दुरीमा रहेका कारण अस्थायी रूपमा राजधानी काठमाडौँमा बसोबास गरिरहेका वृद्ध वृद्धा, अशक्त वडावासीहरूको सहजताका लागि काठमाडौँमा शिविर सञ्चालन गर्ने तयारी गरेको छ । सामाजिक सुरक्षा भत्ताका लागि नेपाल सरकार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निर्णय अनुसार अनिवार्य रूपमा बायोमेट्रिक प्रणाली(औँठा छाप) आवश्यक रहेको छ ।
वडा कार्यालयको पहलमा पहिलो पटक राजधानी काठमाडौँको बालाजु बाइसधारास्थित परिवर्तन अभियान नेपालको कार्यालय रहेको भवनबाट सोमवार बिहान ७ बजेदेखि सेवा प्रदान गरिने वडाध्यक्ष रामचन्द्र तिमिल्सनाले जानकारी दिनुभयो । वृद्ध वृद्धा तथा अशक्त लाभग्राहीहरू वडा कार्यालयसम्म जान असहज हुने भएकाले राजधानीमै शिविर आयोजना गरिएको उनको भनाई छ ।

वडा कार्यालयले बायोमेट्रिकका लागि अनिवार्य रूपमा लाभग्राही स्वयम् उपस्थित हुनुपर्ने व्यवस्था भएकाले शिविरमा आफ्नो सहजता मिलाई उपस्थित हुन पनि आग्रह गरिएको सचिव राजकुमार परियारको भनाई छ ।  वडा कार्यालयले नवीकरणका लागि अनिवार्य रूपमा आवश्यक पर्ने कागजातहरूमा राष्ट्रिय परिचयपत्रसहित स्वयम् उपस्थित हुनुपर्ने, नागरिकताको सक्कल प्रमाणपत्र, सामाजिक सुरक्षा भत्ता प्रमाणपत्र,  एकल महिला वा विधवाको हकमा अविवाहित रहेको वा पुनः विवाह नभएको स्वघोषणा, पतिको मृत्यु दर्ता, अपाङ्गता भएका व्यक्तिको हकमा सक्कल परिचयपत्र र प्रतिलिपिका साथै बसाई सराई सरेर आएकाहरूले भने बसाई सराईको प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने उल्लेख गरिएको छ ।

वडा कार्यालयको उक्त कार्यप्रति लाभग्राहीहरू खुसी भएका छन् ।  सरकारले ७० वर्ष कटेका ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, विधवा, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित बालबालिकाहरूलाई बैङ्कमार्फत सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउंँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.