नुवाकोटमा जिल्लास्तरिय फुटसल प्रतियोगिता सञ्चालन

नुवाकोट- विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई खेलप्रति जागरूक गराउने उद्देश्यले नुवाकोटको वट्टारमा जिल्लास्तरिय फुटसल प्रतियोगिता सञ्चालन गरिएको छ । खेल अवधिभर खेलाडीहरूको बिमा गरिएको छ ।
नुवाकोट युनाइटेड फुटबल क्लबको आयोजनामा चौथो एनयुएफसी जिल्लास्तरिय छात्र तथा छात्रा अन्तर विद्यालयस्तरिय फुटसल प्रतियोगिता सुरु भएको हो । विदुर नपा–४ बट्टारस्थित फुटसलमा सुरु भएको उक्त प्रतियोगिताको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले उद्घाटन गर्नुभयो ।
खेलले विद्यार्थी जीवनदेखि नै सकारात्मक परिवर्तनशील वनाउने र अनुशासनसमेत कायम हुने भएका कारण नियमपूर्वक खेल कौशल प्रदर्शन गर्न उहाँले विद्यार्थी खेलाडिहरुलाई आग्रह गर्नुभयो । खेल र खेलाडीहरूको विकासका लागि विदुर नपाले खेल गतिविधिलाई प्राथमिकता दिएकोसमेत मेयर श्रेष्ठले वताउनुभयो ।
कार्यक्रममा विदुर नपाकी उपमेयर प्रभा बोगटीले खेलबाटै पहिचान, प्रतिष्ठा र अनुशासन प्राप्त गर्न सकिने बताउनुभयो । पछिल्लो समय नुवाकोटमा खेल पर्यटनमा बढोत्तरी भइरहेको उहााको भनाई छ ।
प्रतियोगितामा १२ स्थानीय तह रहेको नुवाकोटका विभिन्न ३३ विद्यालयबाट ३६ छात्र र १४ छात्रा टिमसहित चार सय जना खेलाडीहरूको सहभागिता रहेको छ । सवै खेलाडीहरूको जनही एक÷एक लाखको बिमा गरिएको आयोजक नुवाकोट युनाइटेड फुटबल क्लबका रामकुमार कोइरालाले जानकारी दिनुभयो ।
लिग कम नक आउटका आधारमा खेलाइने प्रतियोगिता अन्तर्गत बुधवार बेलुकीसम्म पहिलो चरणका १२ खेलहरू सम्पन्न भइसकेका छन् । प्रतियोगिताको फाइनल खेल यही भदौ ३१ गते हुने आयोजकले जनाएको छ । विजेता र उपविजेताले नगदसहित मेडल ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने आयोजकले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्