चितवनको बाटुली पोखरी: घुँगी फोर (एसियन ओपन बिल) को प्रजनन केन्द्र

चितवन- चितवनको भरतपुर महानगरपालिका–१३ स्थित बाटुली पोखरी हाल घुँगी फोर गरुड (Asian Openbill Stork) का लागि महत्त्वपूर्ण प्रजनन केन्द्रका रूपमा विकास भएको छ। यहाँ सयौँ घुँगी फोरले गुँड बनाएर चल्ला कोरेका छन्।
बाटुली पोखरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापनमा रहेको यस क्षेत्रका १०४ रुखमा घुँगी फोरले हालसम्म ४७८ वटा गुँड बनाएको मेघौली–घटघाई नेचर गाइड एसोसिएसनका अध्यक्ष मनेस कुमार लिम्बुले जानकारी दिनुभयो । उहाँका अनुसार, एउटै रुखमा १९ वटासम्म गुँड देखिएका छन्।
“घुँगी फोर प्रायः सुक्खा रुखमै गुँड बनाउने गर्छन्। तिनीहरूको आहार घुँगी र अन्य साना जलचर हुन्छ,” लिम्बुले बताए। “अवलोकन गर्दा १०४ रुखमध्ये १०१ वटा सुक्खा रुखमा मात्र गुँड भेटिएका छन् भने हरियो रुखमा जम्मा तीन वटा गुँड देखिएका छन्।”
प्रजनन याममा घुँगी फोरहरूको गतिविधि अवलोकन गर्न संरक्षणकर्मी र पंछीप्रेमीहरू उत्साहका साथ यहाँ आउने गरेका छन्। नेपाल पन्छीविद् सङ्घका अध्यक्ष हठन चौधरीका अनुसार, पहिले यो क्षेत्रमा जाडो याममा साइबेरिएन चराहरू देखिन्थे तर पछिल्ला वर्षहरूमा रैथाने चराहरू स्थायी रूपमा बस्न थालेका छन्। “यहाँ घुँगी फोरको उपस्थिति सात वर्षयता मात्र देखिन थालेको हो,” उहाँले भन्नु भयो।
घुँगी फोरले चैत–वैशाखमा गुँड बनाउन सुरु गर्छन्, जेठतिर अण्डा फुलाउँछन् र भदौमा चल्ला कोर्छन्। ठुला झुन्डमा बस्ने यी चराहरू सामूहिक रूपमा गुँड बनाउँछन्, जसले गर्दा अन्य चराहरूलाई सहजै थाहा नहुने चौधरीले उल्लेख गर्नुभयो।
प्रजनन अवधिमा चराहरूलाई disturbance नहोस् भनेर पोखरी क्षेत्रमा डुङ्गा जस्ता पर्यटकीय गतिविधि रोकिएको थियो। तर, अहिले चल्ला हुर्किएर ठुला भइसकेकाले डुङ्गा सञ्चालनलाई अनुमति दिइएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले बताउनुभयो।
यस क्षेत्रलाई पहिले ‘ठुलो घोल’ भनेर चिनिन्थ्यो। त्यति बेला यहाँको पानी राप्ती नदीमा मिसिन्थ्यो। तर २०६५ सालमा गंगानगर सिँचाइ आयोजना र सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा ड्याम निर्माण गरी यसलाई पोखरीमा रूपान्तरण गरिएको थियो। हाल यस क्षेत्र सिँचाइ मात्र नभई जैविक विविधताको दृष्टिले पनि महत्त्वपूर्ण थलो बनेको बाटुली पोखरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कृष्ण प्रसाद प्रसाईँले जानकारी दिनुभयो।





प्रतिक्रिया राख्नुहोस्