झुम्का कारागारमा फेरि दुई कैदीको मृत्यु, स्वास्थ्य सेवामाथि प्रश्न

सुनसरी – सुनसरीको झुम्का कारागारमा फेरि दुई कैदीको मृत्यु भएको छ।
धरान–१० का २४ वर्षीय सागर राई र गढी गाउँपालिका–६ का ४८ वर्षीय रामदेव उराँवको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा ज्यान गएको हो।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार, उराँव कर्तव्यज्यान मुद्दामा २५ वर्षको कैद सजाय भोगिरहेका थिए भने राई लागुऔषध मुद्दामा पुर्पक्षका लागि गत वैशाखदेखि झुम्कामा थुनामा थिए।
शनिबार राति श्वासप्रश्वासमा समस्या देखिएका उराँवलाई तत्काल अस्पताल पुर्याइएको भए पनि उपचारकै क्रममा सोमबार दिउँसो उनको मृत्यु भयो। त्यस्तै, मंगलबार बिहान राईको पनि मृत्यु भएको कारागार प्रशासनले जनाएको छ।
यसअघि भदौ ४ गते भोजपुर हतुवागढीका २८ वर्षीय विकास राईको पनि बीपी प्रतिष्ठानमै उपचारको क्रममा निधन भएको थियो। यससँगै १३ दिनको अन्तरालमै झुम्का कारागारमा तीन कैदीले ज्यान गुमाइसकेका छन्।
स्वास्थ्य सेवामा कडाइको आवश्यकता
लगातार मृत्यु भएपछि जिल्ला सुरक्षा समितिले कारागारमै स्वास्थ्य शिविर सञ्चालन गर्न र गम्भीर बिरामीहरूको विवरण संकलन गरेर आवश्यक परेमा अन्यत्र स्थानान्तरण गर्ने योजना अघि सारेको छ।
हाल झुम्का कारागारका ‘ए’ र ‘बी’ गरी दुई ब्लकमा१ हजार ७९४ जना कैदी रहेका छन्।
प्रमुख जिल्ला अधिकारी मिश्रले तीनै मृतक दीर्घ रोगी भएको दाबी गर्दै मृत्युको कारण कारागार व्यवस्थापन वा अन्य कुनै बाह्य कारण नभएको बताउनु भयो।
उहाँका अनुसार, “उनीहरू अन्य जिल्लाबाट उपचारका लागि ल्याइएका बिरामी थिए। अस्पताल ल्याउँदा नै गम्भीर अवस्थामा थिए।”
तर, कैदीहरूको स्वास्थ्य समस्याको संख्या बढ्दै जानु र छोटो अवधिमै तीनजनाको मृत्यु हुनुले कारागार भित्रको स्वास्थ्य सेवा र व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ।






प्रतिक्रिया राख्नुहोस्