मुख्य याममै चितवनका प्रमुख पर्यटक गन्तव्यहरू सुनसान

 

सौराहा  – चितवनका प्रमुख पर्यटक गन्तव्यहरू मुख्य याममै एकाएक सुनसान देखिएका छन् । विशेष गरी सौराहा, मेघौली र पटिहानी जस्ता स्थानहरूमा पर्यटकहरूको आवागमन झिनो देखिँदा स्थानीय पर्यटन व्यवसायीहरू चिन्तित भएका छन् ।

पर्यटन प्रवर्द्धन गर्ने निकाय पर्यटन कार्यालय सौराहासँगै व्यवसायीहरूको साझा संस्था क्षेत्रीय होटल सङ्घ,  सौराहले पर्यटन उकास्ने गतिविधि गर्न नसकेको आरोप स्थानिय पर्यटन व्यवसायीको छ।

सबै व्यवसायीलाई समेटी समान दृष्टिकोण बनाउन नसक्दाँ सौराहा क्षेत्रको पर्यटन धरापमा परेको गुनासो व्यवसायीहरूको छ ।गत  आर्थिक वर्षको तुलनामा यस वर्ष चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या करिब २५ प्रतिशतले घटेका छन् ।

पर्यटन कार्यालयमा आएको बजेट अनावश्यक फजुल कार्यक्रममा खर्च भै रहेको गुनासो व्यवसायीहरूको छ। यो घटनासँगै होटल, होमस्टे, रेस्टुरेन्ट तथा सफारी सञ्चालन व्यवसायहरूमा आम्दानीमा ठुलो गिरावट आएको व्यवसायीहरूको गुनासो छ ।

‘अब त खाना खर्च पनि तिर्न गाह्रो भयो,’ सौराहाका होटल व्यवसायी तथा पूर्व अध्यक्ष सुमन घिमिरे भन्नु भयो, ‘कोठा बुकिङ शून्य छ, पर्यटक आउँदैनन् ।’

व्यवसायीहरूले मुख्य समस्याको रूपमा नारायण घाट–मुग्लिङ सडकको जर्जर अवस्था आएको रेवान सौराहाका पूर्व अध्यक्ष गोकर्ण गिरीले बताउनुभयो । ‘लगातार हुने निर्माण तथा मर्मत कार्यका कारण आवागमन अवरुद्ध हुने गरेको छ, जसले देशी तथा विदेशी पर्यटकलाई चितवन पुग्न हतोत्साहित बनाइरहेको छ,’ गिरीले भन्नु भयो ।

चितवन पर्यटन परिषद्का अनुसार, आवागमनको असुविधा, प्रचारको कमी, र पर्यटक गतिविधिहरूको विविधता नहुनु पनि चितवनको पर्यटनमा आएको गिरावटको मुख्य कारण हुन् ।

पर्यटन क्षेत्र सङ्कटमा पर्दा पनि स्थानीय र प्रदेश सरकारको चासो नदेखिएको व्यवसायीहरूको आरोप छ । ‘सरकारको सहयोगबिना अब पर्यटन व्यवसाय उकास्न सकिन्न,’ चितवनका पर्यटन विज्ञ विश्व सुवेदीले भन्नु भयो ।

चितवनको पर्यटन पुनर्जीवनका लागि सडक र यातायात पूर्वाधार सुधार, अन्तर्राष्ट्रियस्तरमा प्रचार‑प्रसार, जङ्गल सफारी बाहेक अन्य विविध गतिविधि विकास र घरेलु पर्यटक लक्षित छुट र प्याकेज कार्यक्रम जस्ता महत्त्वपूर्ण कदमहरू चाल्नु पर्ने आवश्यक रहेको व्यवसायीहरूले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.