गौरीटार अन्तर्राष्ट्रिय रंगशाला निर्माणले नयाँ गति लिदै

मकवानपुर –  मकवानपुरको हेटौंडा उपमहानगरपालिका –६ स्थित गौरीटार अन्तर्राष्ट्रिय रंगशालामा खेल संरचना निर्माणले गति लिएको छ ।  लामो समयदेखि अलपत्र बनेको रंगशालालाई बागमती प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा समेटेपछि निर्माणले तीव्रता पाएको हो ।

अहिले यहाँ अन्तर्राष्ट्रिय स्तरको पौडी पोखरी र क्रिकेट मैदान निर्माण सम्पन्न भएको छ भने फुटबल मैदान पहिले नै तयार भइसकेको छ ।

२०८१ साल वैशाखमा शिलान्यास गरिएको पौडी पोखरी र क्रिकेट मैदान दुवै संरचना २०८२ असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण सुरु गरिएको थियो । ८ करोड ६३ लाख रुपैयाँ लागतमा निर्मित पौडी पोखरीमा २५–५० मिटर र २५–१० मिटर आकारका दुई पोखरी बनाइएका छन् ।

ठूलो पोखरीमा एकसाथ १० जना सम्म प्रतिस्पर्धा गर्न सक्ने सुविधा रहेको छ । साथै, १ सय ५० दर्शक क्षमताको भिआइपीे प्यारापिट तयार गरिएको छ । त्यसैगरी ११ करोड ७४ लाख रुपैयाँ लागतमा तयार भएको क्रिकेट मैदानमा ५ वटा पिच, स्कोर बोर्ड, ड्रेनेज प्रणाली र ४ सय ५० दर्शक क्षमताको प्यारापिट निर्माण गरिएको छ ।

पहिलो चरणमा १३ करोड रुपैयाँमा सम्पन्न यो मैदानमा प्याभिलियन निर्माणको काम बाँकी छ । प्याभिलियन बनेपछि अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न सकिने प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामाले बताउनुभयो ।

उहाँका अनुसार छठ पर्व लगत्तै पौडी पोखरी र क्रिकेट मैदानको प्रतियोगितासहित औपचारिक उद्घाटन गर्ने तयारी रहेको छ । फुटबल मैदान भने यस अघिनै निर्माण सम्पन्न भएर राष्ट्रिय स्तरको प्रतियोगिता समेत आयोजना भैसकेको छ । २ हजार ८ सय ५० दर्शक क्षमताको प्यारापिट, खेलाडी चेन्जिङ रुम, तथा अन्य आवश्यक संरचना तयार भएका छन् । सेन्थेटिक ट्रयाक र फ्लड लाइट निर्माण कार्य भने बाँकी रहेको सदस्यसचिव लामाले बताउनुभयो ।

रंगशालाभित्र अन्य खेलका संरचना निर्माण पनि क्रमशः अघि बढिरहेका छन् । फुटबल अभ्यास मैदान निर्माण र टेनिस कोर्टमा तारजाली लगाउने काम जारी रहेको छ । कुल २ अर्ब ३२ करोड रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार रंगशालाभित्र फुटबल, क्रिकेट र पौडीका साथै तेक्वान्दो, कराँते, बक्सिङ, बास्केटबल, लन टेनिसलगायतका खेलका लागि छुट्टाछुट्टै संरचना, प्रशासनिक भवन, खेलाडी छात्रावास लगायत २१ वटा पूर्वाधार निर्माणको योजना छ । हालसम्म करिब ३२ करोड रुपैयाँ बराबरका संरचना निर्माण भइसकेका छन् ।

२३ विगाह क्षेत्रफलमा फैलिएको रंगशालामा मास्टरप्लानअनुसार यहाँ ६ हजार दर्शक क्षमताको इनडोर कर्भड हल, भिआइपी कक्ष, खेलाडी कक्ष, चेन्जिङ रुम, ब्रोडकास्टिङ र मिडिया कक्ष समेत निर्माण गरिनेछ ।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले २०६६ जेठमा रंगशालाको शिलान्यास गर्नुभएको थियो । २०७६ सालमा बागमती प्रदेश सरकारले रंगशालाको स्वामित्व लिएपछि निर्माणले गति लिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.