सामोआलाई १२४ रनले हराउँदै नेपाल च्याम्पियन

काठमाडौँ – ओमानमा जारी आइसीसी पुरुष टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोटको उपाधि नेपालले जितेको छ ।

भर्खरै सम्पन्न खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो । यसअघि नै अर्को वर्ष भारत–श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान सुरक्षित गरिसकेको नेपाल अपराजित रहँदै विजेता बन्न सफल भयो ।

नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेटको क्षतिमा ८७ रनमात्रै जोड्यो । उसका लागि सिन सोलिआले सर्वाधिक ४० रन जोड्दा बेन्जामिन मैलताले ११ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ नेपालका ललित राजवंशीले तीन विकेट लिए भने करण केसी, रोहित पौडेल र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।

 

त्यसअघि ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २११ रन जोड्यो ।

आसिफ शेख र दिपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेले । आसिफले ४१ बलमा ६९ रन जोडे । उनको यो टी–२० आई करिअरमै सबैभन्दा धेरै रन हो । उनले सात चौका र ४ छक्का प्रहार गरे ।

यस्तै, दिपेन्द्रले ३३ बलमा ५३ रन जोडे । उनले दुई चौका र चार छक्का प्रहार गरे । यस्तै, लोकेश बमले बिष्फोटक ब्याटिङ गरे । उनी ३९ रनमा अविजित रहे । मात्र १२ बल खेलेका उनले चार छक्का र दुई चौका प्रहार गरे । यस्तै, रोहित पौडेल २१ रनमा अविजित रहँदा कुशल भुर्तेलले १७ रनको योगदान दिए ।

बलिङतर्फ सामोआका ड्यानियल ब्रुगेश, सौमानी तिआई, दारिअस विसर र नोहा मिदले एक–एक विकेट लिए ।

नेपाल अङ्क तालिकामा शिर्ष स्थानमा रह्यो । सन् २०२६ को फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलङ्कामा आयोजना हुने टी–२० विश्वकप प्रतियोगिताका लागि नेपाल यसअघि नै छनोट भइसकेको हो ।

अर्कोतर्फ विश्वकपको छनोटबाट बाहिरिसकेको सामोआ सुपर सिक्समा जितविहीन बन्यो ।

नेपालले समूह चरणमा जापान र कतारलाई पराजित गर्दै सुपर सिक्समा प्रवेश गरेको थियो ।

साथै, युएई र ओमान पनि सन् २०२६ मा आयोजना हुने टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भए ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.