नेपाल युएईसँग ५ विकेटले पराजित

काठमाडौँ- आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले लगातार दोस्रो पराजय व्यहोरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको शृङ्खलाको आफ्नो दोस्रो खेलमा आज नेपाल घरेलु टोली युएईसँग ५ विकेटले पराजित भएको हो ।

टस जितेर सुरुवाती ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाउँदै २ सय ३३ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले १ सय ३० बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक १ सय ९ रनको शतकीय पारी खेलेका थिए ।

यसैगरी आसिफ शेखले ३५, आरिफ शेखले २७, दीपेन्द्रसिंह ऐरीले २३ र करण केसीले १३ रन बनाए । कप्तान रोहितले शतकीय पारी खेलेपनि नेपालको पराजय भने टार्न सकेनन् ।

जितका लागि २ सय ३४ रनको लक्ष्य पछ्याउदै मैदानमा उत्रिएको युएईले पाँच विकेटको क्षतिमा लक्ष्य पुरा गर्‍यो । युएई विरुद्ध नेपालका सन्दीप लामिछानेले दुई तथा करण केसी र दीपेन्द्रसिंह एरीले समान एक-एक विकेट लिए ।

यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग एक सय ६ रनले पराजित भएको थियो ।

यस जितसँगै १८ खेलबाट आठ अङ्क बनाएको युएई अन्तिममै छ । समान खेलबाट १२ अङ्क बनाएको नेपाल सातौँ स्थानमा छ ।

नेपालले युएईपछि शृङ्खलाको अर्को खेल कात्तिक १५ गते शनिबार अमेरिकासँग र अन्तिम खेल कात्तिक १९ गते बुधबार युएईसँग खेल्नेछ ।

आठ टोली सहभागी लिगमा हाल अमेरिका २२ खेलबाट ३२ अङ्क जोड्दै शीर्षस्थानमा छ ।

लिग–२ मा सहभागी आठ राष्ट्रले कुल नौ शृङ्खलामा ३६ खेल खेल्नेछन् । प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीन शृङ्खला खेल्नेछन् भने ६ शृङ्खला अन्य राष्ट्रका मैदानमा खेल्नेछन् ।

प्रतियोगितामा शीर्ष चारमा रहने टोली सोझै सन् २०२७ मा हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.