अन्नपूर्णको फेदीमा अवस्थित खयरबराह ताल धार्मिक पर्यटकको रोजाइमा

म्याग्दी– उत्तर–पूर्वी क्षेत्र अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, शिखस्थित पाउद्वारको खोप्रालेक क्षेत्रमा अवस्थित खयरबराह ताल धार्मिक पर्यटन आकर्षणको केन्द्र बनेको छ । संसारको दशौं अग्लो चुचुरो समुन्द्री सतहदेखि ८ हजार ९१ मिटर उचाइको अन्नपूर्ण हिमालको दक्षिणतर्फ फेदीमा रहेको तालमा पछिल्लो समय पर्यटकहरु पुग्ने गर्दछन् ।
खयरबराह ताल आफैमा पनि निकै सुन्दर, आकर्षक र मनमोहक छ । हिमालको दृश्य तालमा पर्नुले पनि यहाँ थप सुन्दरता झल्किन्छ । हिमालको फेदीमा अवस्थित खयरबराह तालको सुन्दरता र आकर्षणको बारेमा शब्दमा वर्णन गरेर सकिदैन । यहाँ पुग्ने जो कोही पनि ताल नजिकै पुग्नेबित्तिकै मन्त्रमुग्ध हुन्छन् । लामो दुरीको उकालो हिँडेर थकित पाइलाहरु ताल नजिकमा पुगेपछि त्यहाँ देखिने सुन्दर दृश्यले थकानलाई छिनभरमै मेटाइदिन्छ ।
वरिपरीबाट पहाडले घेरिएको र बीच भागमा रहेको तालको पृष्ठभूमीमा देखिने हिमालको छाँया थप रोचक र आकर्षक लाग्छ । यही दृश्यको कारणले गर्दा मानिसहरुको थकान, भोग र तिर्खा भुलाइदिन्छ । समुन्द्री सतहदेखि ४ हजार ७ सय मिटरको उचाइमा रहेको खयरबराह ताल झण्डै एक हजार वर्गमिटर क्षेत्रफलमा गोलाकार रुपमा फैलिएको अनुमान गरिएको छ । खयरबराह तालले धार्मिकसँगै प्राकृतिक सौन्दर्यताको हिसाबले पनि पर्यटकीय आकर्षणको सम्भावना उत्तिकै बोकेको स्थानीयवासी बताउँछन् ।
खयरबराह तालदेखि तल भिरालो जमिनमा हरियाली फाँटका साथै चारैतिरको मनोरम दृश्यहरु नियाल्न सकिन्छ । खयरबराह ताल क्षेत्रको विकास गर्नका लागि स्वदेश तथा विदेशमा रहेका स्थानीय चन्दादाताहरुमार्फत आर्थिक सहयोग सङ्कलन गरी आवश्यक पूर्वाधारहरुको निर्माण गरिएको खयर क्षेत्रको विकासमा सक्रिय पाउद्वारका स्थानीयवासी लेफ्टिनेन्ट राजु पुनको भनाइ छ । खयरबराह तालसम्म पुग्ने पदमार्ग, थकान मेट्ने चौतारी र आश्रयस्थल निर्माणमा पाउद्वारवासीले ठूलो लगानी गरेका छन् । पछिल्लो समय अन्नपूर्ण गाउँपालिकाले पनि आवश्यक पूर्वाधारहरु निर्माणमा सहयोग गरेको छ ।
बेलायती सेनाबाट सेवानिवृत्त लेफ्टिनेन्ट पुनको पहलमा कुल एक करोड ६० लाख रुपैयाँ चन्दास्वरुप सहयोग उठाएर यसअघि खयरभारानीको मन्दिर, चौतारी, पदमार्ग, आवास, सत्तल, शौचालयलगायत पर्यटनका पूर्वाधारहरु बनाइएको थियो । पर्यटकीय क्षेत्र खोप्रालेकदेखि खयरबराह तालसम्म पुग्नका लागि बीच बीचमा पदमार्ग, चौतारी, खानेपानी र बास बस्ने ठाउँहरु निर्माण गरिएको छ । खयरखोला छेउमा पर्यटकलाई बास बस्नका लागि चारवटा भवन, एउटा ठूलो किचन र शौचालय निर्माण गरिएको खयरभारानीथान तथा क्षेत्र संरक्षण कोषले जनाएको छ । खयरबराह तालमा खासगरी जनैपूर्णिमा पर्वमा विशेष मेला लाग्ने गर्दछ ।
अन्नपूर्ण र धौलागिरि रेञ्जका अधिकांश हिमश्रृङ्खलाहरु देखिने खयर क्षेत्रमा अवस्थित खयरबराह तालमा पर्ने हिमालको प्रतिबिम्ब (छाँया)ले पर्यटकलाई थप मोहित बनाउने गर्दछ । एकै दिनमा पटक–पटक परिवर्तन हुने मौसम र बादलको थुम्काले लुकामारी खेलिरहने यहाँको अर्को थप विशेषता रहेको छ । खयरबराह तालको दर्शन तथा भ्रमण गर्न पुग्नुभएकी आन्तरिक पर्यटक मनिशादेवी पौडेलले खयरबराह क्षेत्रमा आफूले प्रकृति र अध्यात्मको एकसाथ अध्ययन गर्न पाएको अनुभव सुनाउनुभयो ।
खयरबराह ताललाई स्थानीयले खयरभारानीताल समेत भन्ने गर्दछन् । प्रकृतिको आशिर्वाद सँगसँगै खयरभारानीको आशिर्वाद लाग्ने भन्दै नेपाली र भारतीय तिर्थालु तथा तेस्रो मुलुकबाट समेत पर्यटकहरु यहाँ पुग्ने गर्दछन् । स्थानीय किम्बदन्तीअनुसार बाराही माईका नौ बहिनीमध्ये खयरभारानीताल जेठी, पोखराको फेवातालको बीचमा रहेको तालबाराही माईली, अन्नपूर्ण ७ हिस्तानको घराम्दीस्थित पेरीभारानीताल साइँली हुन् ।
यसैगरी अन्नपूर्ण गाउँपालिकाककै शिखमै रहेकी कान्छीभारानी, नागीको नागीभारानी, काफलडाँडाको मनिभारानी, खयर क्षेत्रमै रहेका गोर्सेभारानी र कान्छीभारानीसहितका तालहरु खयरभारानीकै बहिनीहरु रहेको स्थानीयवासीले बताउने गरेका छन् ।






प्रतिक्रिया राख्नुहोस्