ठुलाकेदार धाममा बृहत् सरसफाइ

डोटी – सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटन गन्तव्य बडिकेदार धाम (ठुलाकेदार)मा मेलापछि व्यापक सरसफाइ कार्य सम्पन्न गरिएको छ। कार्तिक १६, १७ र १८ गते सम्पन्न बृहत् मेला–२०८२का क्रममा भएको फोहोर व्यवस्थापनका लागि शनिवार विशेष सरसफाइ अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
बडिकेदार धाम शक्ति पीठ बृहत् मेला–२०८२ सञ्चालन समितिका संयोजक दीपेन्द्रराज सिराडीका अनुसार मेलामा तीन दिनसम्म ठुलो सङ्ख्यामा भक्तजन तथा पर्यटकको आगमन हुँदा धाम परिसर, पदमार्ग, बसपार्क तथा आसपासका क्षेत्रमा पर्याप्त मात्रामा फोहोर जम्मा भएको थियो। मेलापछि धामलाई पुनः स्वच्छ र व्यवस्थित बनाउन बडीकेदार गाउँपालिकाको समन्वयमा बडिकेदार गाउँपालिकाका कर्मचारी , स्थानीयहरूको सहभागितामा सरसफाइ गरिएको हो ।
बडीकेदार गाउँपालिकाले पनि धाम क्षेत्रलाई धार्मिक, पर्यटकीय तथा वातावरणीय दृष्टिले व्यवस्थित बनाउने उद्देश्यले सहयोग प्रदान गर्दै आएको पालिकाले जनाएको छ ।
फागुनको महाशिवरात्रि र कात्तिकको वैकुण्ठ चतुर्दशीमा यहाँ भक्तजनको ठुलो घुइँचो लाग्छ। महाशिवरात्रिभन्दा बढी वैकुण्ठ चतुर्दशीको मेला भव्य लाग्ने गरेको छ । मनोकामना पूरा हुने विश्वासका कारण तराईका थारु समुदायदेखि भारतका लखिमपुर, पलिया, बरेली, साहजनपुर, खटिया र सिंहाहीबाट हजारौँ तीर्थालु हरेक वर्ष बडीकेदार आइपुग्छन्।






प्रतिक्रिया राख्नुहोस्