३० हजार दर्शक अटाउने त्रिवि क्रिकेट मैदानका के-के छन् अरु विशेषता?

काठमाडौँ- भोलि (सोमबार)बाट नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करण सुरु हुँदै छ । किर्तीपूरस्थित त्रिवि क्रिकेट मैदानमा हुने एनपीएलका लागि रंगशालालाई अत्याधुनिक सुविधा सम्पन्न बनाइएको छ ।

खेल मैदानमा बनाइएका आकर्षक भौतिक संरचनाका कारण क्रिकेटप्रेमी युवाहरु उत्साहित भएका छन् ।

कीर्तिपुरस्थित पहाडको काखमा, नेपाली क्रिकेटको भविष्यले आकार लिँदैछ । त्रिभुवन विश्वविद्यालय परिसरमा बनेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अब केवल सपना मात्र होइन, सरकारको राष्ट्रिय प्राथमिकता बनिसकेको छ ।

१० अर्ब रुपैयाँको लागतमा निर्माण भएको यो रंगशाला सहरी विकास मन्त्रालयको गुरुयोजना अन्तर्गत बनेको हो । यो रंगशालालाई ३० हजार दर्शक अट्ने क्षमताको बनाइएको छ ।

अब, आधुनिक संरचना, डिजिटल स्कोरबोर्ड, फ्ल्ड लाइट र दर्शकका लागि सुविधासम्पन्न सिटसहितको रंगशालाले खेलप्रेमीहरुमा नयाँ उत्साह थपेको छ ।

एनपीएलको दोस्रो संस्करण अत्याधुनिक सुविधा सम्पन्न खेल मैदानमा हुँदै छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु सहभागी हुने प्रतियोगितालाई लक्षित गरी प्यारापिटको निर्माण गरिएको छ ।

विगतमा दिउँसोको समयमा मात्र प्रतियोगिता सञ्चालन गर्नुपर्ने बाध्यता थियो । तर अब खेल मैदानमा जडान गरिएको फ्लड लाइटका कारण रातको समयमा पनि प्रतियोगिता सञ्चालन गर्न सकिने भएको छ ।

जसले गर्दा नेपालमा पहिलो पटक डे-नाइट खेलहरू आयोजना गर्नेगरी लिगको खेल तालिका बनाइएको छ ।

भौतिक पुर्वाधार अन्तर्गत मैदान र पिचको समेत पुन: निर्माण गरिएको छ ।

ड्रेनेज सिस्टम अर्थात वर्षा पछि छिटो सुक्ने उच्चस्तरीय जलनिकास प्रणालीको समेत व्यवस्था गरिएको छ ।

यस्तै, शौचालय, फुड कोर्ट, दर्शक र खेलाडी दुवैका लागि मेडिकल सुविधाको पनि व्यवस्था गरिएको छ । डिजिटल स्कोरबोर्ड, आपतकालिन निकासद्वार र एम्बुलेन्सको पनि व्यवस्थापन गरिएको छ ।

एनपीएलको पहिलो संस्करण भब्य रुपमा सम्पन्न भएपनि मैदानको स्तरोन्नतिका कारण थप उत्साह बढेको र यो रंगशाला नेपालको गौरव भएको खेलप्रेमीहरुको भनाइ छ ।

गुरुयोजना अनुसार यो रंगशाला आईसिसी मान्यता प्राप्त हुने गरी निर्माण गरिएको हो । कीर्तिपुरको क्रिकेट रंगशाला अब केवल मैदान मात्र होइन, यो नेपाली खेलकुदको गौरव, भविष्यको आधार र विश्वसामु प्रस्तुत हुने नेपालीको पहिचान बन्ने विश्वास खेलप्रेमीको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.