रातको समयमा सडक बन्द गरेर निर्माण कार्य गरिने

पूर्वी नवलपरासी-  पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल सडक खण्डको नारायणी पुल क्षेत्रमा आज र भोलि दुई दिन रातको समयमा सडक बन्द गरेर निर्माण कार्य गरिने भएको छ । चितवन र पूर्वी नवलपरासी जोडने नारायणी नदी पुलको गैँडाकोट तर्फको भागमा सडक कालो पत्र गर्न आज र भोली रातिमा पाँच घण्टा सडक बन्द गर्न लागिएको आयोजनाले जनाएको छ ।

नारायणगढ बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले आज र भोली राति ११ बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म राजमार्ग बन्द गर्न लागिएको बताउनुभयो । यस खण्डको गैँडाकोट तर्फको एप्रोच सडकको भागमा कालो पत्र गर्नका लागि रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएर काम गर्न लागिएको हो । अहिले सम्म नारायणगढ बुटवल सडक खण्ड विस्तारको भौतिक प्रगति ७५ प्रतिशत भएको छ भने पूर्वी खण्ड तर्फको ६५ किलोमिटर मध्ये ६० किलोमिटर कालो पत्रको काम सकिएको इन्जिनियर खनालले बताउनुभयो ।

रातको समयमा सडक बन्द गर्दा पूर्व तर्फ जाने सवारी साधन पूर्वी नवलपरासी विभिन्न स्थान र पश्चिम तर्फ आउने सवारी साधनलाई चितवनका विभिन्न स्थानमा रोकिने आयोजनाले सूचना जारी गरी जनाएको छ । बुटवल बाट पूर्व तर्फ आउने सवारी साधनहरू बस, मिनिबस, माइक्रो बस, साना चार पाङ्ग्रे  सहितका सवारी साधनलाई थुम्सीदेखि बेल्डिया सम्म  रोकिने छन् । यस्तै, ट्रक, ट्रेलर, कन्टेनर, लहरी जस्ता ठुला मालवाहक सवारीसाधन बेल्डिहादेखि प्रगति नगर सम्म रोकिने छन् ।

पश्चिम जान पूर्वतर्फबाट आएका सवारीसाधनलाई चितवनमा रोकिने छ । बस, मिनिबस, माइक्रो बस, साना चार पाङ्ग्रे सवारीसाधन मुग्लिन नारायणगढ सडकको रामनगरदेखि जुगेडीसम्म र पूर्वपश्चिम राजमार्गको केन्द्रीय बसपार्कदेखि गोन्द्राङसम्म रोकिने इन्जिनियर खनालले जानकारी  दिनुभयो । यस्तै, ट्रक, ट्रेलर, कन्टेनर, लहरी जस्ता मालवाहक सवारीसाधनहरू भने जुगेडीदेखि दास ढुङ्गा सम्म र गोन्द्राङ देखि टिकौली सम्म रोकिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.