रेसुङ्गा विमानस्थल जाने सडक कालोपत्रे गरेसँगै आवातजावतमा सहज

गुल्मी- गुल्मीको सदरमुकाम तम्घासको देउरालीदेखि रेसुङ्गा नगरपालिका-१० सिमीचौरस्थित रेसुङ्गा विमानस्थलसम्म जोड्ने सडक कालोपत्रे भएपछि समग्र क्षेत्रमा उत्साह बढेको छ ।
जिल्लाको महत्वपूर्ण पूर्वाधारमध्ये पर्ने यो सडक स्तरोन्नति भएपछि स्थानीयवासी, व्यवसायी, पर्यटक तथा दैनिक यात्रुहरू सबैले ठूलो राहत अनुभव गरेका छन् ।
लामो समयदेखि अप्ठ्यारो, धुलाम्मे र वर्षायाममा अत्यधिक जोखिम मोलेका स्थानीयलाई कष्ट हुँदै आएको थियो । तम्घासको देउरालीदेखि रेसुङ्गा विमानस्थलसम्मको झण्डै पाँच किलो मिटरसडक मध्ये अहिले तीन किलोमिटर भन्दा बढी भाग कालोपत्रे भइसकेको छ ।

बाँकी सडकमा समेत तीव्र गतिमा काम भइरहेको र केही दिनभित्र पूर्णरूपमा कालोपत्रे हुने गरी काम भइरहेको संघीय आयोजना कार्यान्वयन इकाई भैरहवा रुपन्देहीका इन्जिनियर घनश्याम यादवले बताउनुभयो ।
यो सडक स्तरोन्नतिले स्थानीय नागरिकसँगै तम्घासबाट सिमीचौर रेसुङ्गा विमानस्थलसम्म आवागमन गर्न ठूलो राहत पुगेको छ ।
विशेषगरी, हवाई सेवाको पहुँच विस्तार गर्न, पर्यटन विकास गर्न तथा कृषि उत्पादन बजारसम्म पुर्याउन यो सडक महत्वपूर्ण आधार बन्ने स्थानीय मानबहादुर अधिकारी बताउनुहुन्छ । उहाँले सडक कालोपत्रे नहुँदा घर वरिपरी बस्नसमेत निकै कठिनाइ हुने गरेको स्मरण गर्नुभयो ।
संघीय आयोजना कार्यान्वयन इकाई भैरहवा रुपन्देहीमार्फत रेसुङ्गा नगरपालिका भित्रका विभिन्न वडामा सडक विस्तार र कालोपत्रे गर्ने काम निरन्तर भइरहेको छ ।
संघीय आयोजना कार्यान्वयन इकाई भैरहवा रुपन्देहीमार्फत करिब ३० करोडको लागतमा नगरपालिका भित्रका सडकहरु धमाधम कालोपत्रे भइरहेको इन्जिनियर यादवले बताउनुभयो ।
सडक कालोपत्रे भएपछि आवत–जावत सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ । ग्रामीण भू-भागमा पर्ने यस सडक समयमै स्तरउन्नति नहुँदा स्थानीयले वर्षेनी समस्या भोग्दै आएका थिए ।

अब भने यस सडकले विमानस्थल सम्मको पहुँचलाई थप सुदृढ बनाएको छ । सडक कालोपत्रे भएपछि तम्घासबाट रेसुङ्गा विमानस्थलसम्म पुग्ने यात्रा समय धेरै घटेको छ ।
रेसुङ्गा क्षेत्र धार्मिक, प्राकृतिक र सांस्कृतिक पर्यटनका लागि चर्चित गन्तव्य मानिन्छ । घरमा बस्दा समेत माक्स लगाएर बस्नुपर्ने अवस्थाको अहिले सडक कालोपत्रे भएपछि अत्य भएको स्थानीय लक्ष्मण अर्यालले बताउनुभयो ।
अहिले सडक कालोपत्रे हुँदा नागरिकले ठूलो राहतको महशुस गरेका छन् । गाउँका किसानहरूले पहिले धुलो, हिलो र खराब सडकका कारण समयमै उत्पादन ढुवानी गर्न नसक्ने गुनासो गर्दै आएका थिए ।।






प्रतिक्रिया राख्नुहोस्