बागलुङका धार्मिक स्थलको प्रवर्द्धनात्मक भ्रमण

बागलुङ – भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सर सहितको टोलीले बुधवार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्य स्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । बिहीबार पोखरा हुने दोस्रो ‘भारत–नेपाल टुरिजम मिट’ अन्तर्गत पर्वतको कुस्मा नगरपालिका–५ मोदी वेणी धाम, बागलुङको प्रसिद्ध शक्ति पीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा गन्तव्य प्रवर्द्धनको कार्यक्रम गरिएको हो ।

प्रवर्द्धनात्मक भ्रमणका क्रममा बागलुङ नगर पर्यटन विकास समितिले आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले धार्मिक पर्यटनका यस क्षेत्रले प्रचुर सम्भावना बोकेको बताउनुभयो । “पर्वत, बागलुङलगायत सिङ्गो धवलागिरि क्षेत्रमा महत्त्वपूर्ण धार्मिक सम्पदा र तीर्थस्थलहरू छन्”, उहाँले भन्नुभयो, “प्रकृति र संस्कृतिले पनि यस क्षेत्र धनी छ, यस क्षेत्रको पर्यटन विकासमा सबै क्षेत्रले हातेमालो गर्नु जरुरी छ ।”

‘भारत–नेपाल टुरिजम मिट’ सन्दर्भमा भएको प्रवर्द्धनात्मक भ्रमणले यस क्षेत्रमा भारतीय धार्मिक पर्यटक भित्राउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले यस्ता कार्यक्रमले नेपाल–सम्बन्ध थप सुदृढ हुने र पर्यटनलगायत क्षेत्रमा साझेदारी र सहकार्यका अवसर सिर्जना हुने बताउनुभयो । नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत प्रेम भट्टराईले नेपाल–भारतबिच पर्यटन क्षेत्रका सम्भावना र अवसर पहिल्याउनका लागि यो कार्यक्रम महत्त्वपूर्ण हुने बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले नेपालमा धेरै पर्यटक पठाउने भारतीय टुर अपरेटर कम्पनी भ्रमणमा सहभागी रहेको जानकारी दिनुभयो । सामाजिक सञ्जालमार्फत भारतीयमाझ यहाँका गन्तव्य स्थलको प्रचारप्रसारका लागि सामाजिक सञ्जाल इन्फ्लुएन्सरहरु पनि यस भ्रमणमा सहभागी रहेको उहाँले बताउनुभयो ।

होटल व्यवसायी महासङ्घ, गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले बागलुङका गन्तव्य स्थलको प्रवर्द्धनका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले भारतीय पर्यटकलाई यहाँका धार्मिक गन्तव्य स्थलमा आकर्षित गर्न सके पर्यटनले ठुलो फड्को मार्ने धारणा राख्नुभयो । भारतको उत्तर प्रदेशको पर्यटन विभागका सह निर्देशक दिनेशकुमारले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कालिका भगवती मन्दिर अवलोकनपछि उक्त मन्दिरको इतिहासबारे मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष निशान खड्काले जानकारी गराउनुभएको थियो । पाँच सय वर्ष पुरानो कालिका भगवती यस क्षेत्रकै प्रसिद्ध धार्मिक स्थल हो । बागलुङ नगरपालिका–४ कुँडुलेमा अवस्थित शालिग्राम सङ्ग्रहालयमा बारेमा उक्त सङ्ग्रहालयका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले जानकारी गराउनुभएको थियो ।

सुरुङभित्र बनेको संरचनामा सवा लाख शालिग्राम सङ्ग्रह गरिएको छ । शालिग्रामलाई हिन्दु धर्मवालम्बीहरुले विष्णु भगवान्का रूपमा पूजने गर्छन् । उक्त अवसरमा काली गण्डकी सभ्यता र मुक्ति क्षेत्रको महिमाबारे पनि चर्चा गरिएको थियो । पर्वतको मोदी वेणी धाम र त्यहाँ रहेको नृरसिँह भगवान्को मन्दिरका बारेमा मन्दिर गुठीका अध्यक्ष केशवदास वैरागीले जानकारी गराउनुभएको थियो । विसं १८९० मा स्थापना गरिएको उक्त मन्दिर वैष्णव समुदायको पवित्र तीर्थस्थलका रूपमा परिचित छ ।

पोखरा पर्यटन परिषद्, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा सहकार्यमा आयोजित गन्तव्य प्रवर्द्धन कार्यक्रम सोमबारदेखि सुरु गरिएको थियो । उक्त टोलीले पहिलो सुनौली नाका हुँदै चितवनको सौराहा आएको थियो । मङ्गलवार तनहुँको बन्दीपुर हुँदै कास्कीको बेगनास क्षेत्रको प्रवर्द्धनात्मक भ्रमण गरिएको थियो ।

बिहीबार बिहान पोखराको पुम्दीकोट भ्रमण गर्ने कार्यक्रम रहेको आयोजक पोखरा पर्यटन परिषद्ले जनाएको छ । बिहीबार साँझ पोखरामै दुवै देशका सरकारी प्रतिनिधि, टुर अपरेटर, व्यवसायीलगायतको उपस्थितिमा दोस्रो ‘भारत–नेपाल टुरिजम मिट’को आयोजना हुने परिषद्का महासचिव सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.