तनहुँ जिल्ला प्रशासन : तीन महिनामा एक करोड रुपैयाँ राजस्व सङ्कलन, ४३४ गुनासा फर्छ्यौट

दमौली (तनहुँ)- जिल्ला प्रशासन कार्यालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा एक करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सङ्घसंस्था दर्ता र नवीकरण, हातहतियार नवीकरण र नामसारी, राहदानी दस्तुरलगायतबाट एक करोड १८ लाख १५ हजार ८८५ रुपैयाँ राजस्व सङ्कलन भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार सङ्घसंस्था दर्ता नवीकरणबाट दुई लाख पाँच हजार ७००, हातहतियार नवीकरण र नामसारीबाट तीन लाख दुई हजार २५०, राहदानी दस्तुरबाट एक करोड ११ लाख ५८ हजार, न्यायिक दण्ड जरिवानाबाट एक लाख ३५ हजार ४३५ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
४३४ गुनासा फर्छ्यौटः
चालु आवको पहिलो त्रैमासिकमा जिल्ला प्रशासन कार्यालयमा ६१९ गुनासो दर्ता भएका छन् । विभिन्न माध्यमबाट कार्यालयमा गुनासो दर्ता गरिएको हो । प्रजिअ अधिकारीले सबैभन्दा बढी नागरिक एपमार्फत ५७२ गुनासो प्राप्त भएको जानकारी दिनुभयो । त्यस्तै कार्यालयमा निवेदनमार्फत ३४ र निमायक निकायबाट १३ गुनासो प्राप्त भएको उहाँले बताउनुभयो । गुनासोमध्ये ४३४ गुनासो फर्छ्यौट गरिसकिएको उहाँले जानकारी दिनुभयो ।
सेवाग्राहीका सहजताका लागि कार्यालयले क्युआर कोडमार्फत गुनासो दर्ता गर्न सक्ने व्यवस्था गरेपनि क्युआरकोड मार्फत कुनै पनि गुनासो नआएको प्रजिअ अधिकारीको भनाइ छ । त्यस्तै हेलो सरकारमार्फत पनि गुनासो प्राप्त भएको छैन । प्रजिअ अधिकारीका अनुसार नागरिक एपमार्फत प्राप्त गुनासोमध्ये ३८७, कार्यालयमा निवेदन प्राप्तमध्ये ३४ र निमायक निकायमार्फत प्राप्त गुनासोमध्ये १३ गुनासो फछ्र्यौट भएका छन् ।






प्रतिक्रिया राख्नुहोस्