तमु ल्होसार महोत्सवः पुस्तैनी ठेकीले सम्झायो पुर्खा

काठमाडौँ- ठेकी र मदानी काखीमा च्यापेर हिँड्दै गरेकी ललितपुरकी देवकुमारी गुरुङलाई नियाल्ने निकै थिए । ठेकी परम्परागत थियो । निकै पुरानो रहेछ ? सोध्नेहरुलाई उहाँ भन्नुहुन्थ्यो, “अनि यो ठेकी आजको हो त ? तीनपुस्ते पुरानो नि ।”

उमेरले ६३ पुग्नुभएकी देवकुमारीले आज टुँडीखेलमा भएको तमु ल्होसार महोत्सवमा परम्परागत संस्कृति प्रदर्शन गर्न घरबाटै पुर्ख्यौली ठेकी लिएर आउनुभएको थियो । उहाँले उक्त ठेकीमा आफ्नो मौलिकपनसँगै पुर्खाका भावनासमेत जोडिएको सुनाउनभुयो । गोर्खाबाट ललितपुर बसाइँसराइ गर्दासमेत उहाँले पुर्ख्यौली भाँडाकुँडासँगै राख्नुभएको बताउनुभयो ।

“यो ठेकीमा कुनै बेला कति मोही पारियो पारियो”, देवकुमारीले भन्नुभयो, “सानैमा बिहे गर्दिए, यस्तै ठेकी जत्रै थिएँ । अहिले यसैलाई हेर्दै विगत सम्झिँदा रमाइलो लाग्छ ।”

आदिवासी जनजातिको परम्परागत गरगहना, भाँडाकुँडादेखि रहनसहनमा सबैका कथा समेटिएका छन् । महोत्सवमा यिनै कथा र भावना साटासाट गर्दै गुरुङ समुदायले ल्होसार मनाउँदैछन् । जसमा नयाँ पुस्ता र पाका पुस्ता एक साथ रमाइरहनुभएको थियो ।

भक्तपुर घर भएकी सोरठी गुरुङले आफूले लगाएका पुख्र्याैली गहनाको बेलीविस्तार सुनाउनुभयो । मखमली चोली, छिट्को गुन्यो र नीलो पटुकीमा चिटिक्क परेकी सोरठीले पुर्खाले दिएको मुगामाला (पिरुमाला), शिरमा शिरफुल, शिरबन्दी र हबेल माला अति मायाले सम्हालेको बताउनुभयो । उहाँका अनुसार ती गहना आमाले बिहेका बेला माइतीका तर्फबाट उपहार दिनुभएको थियो ।

“यो गहना जति पुरानो हुन्छ, उति नै महत्वपूर्ण लाग्छ”, उहाँले भन्नुभयो, “जति दुःख परे पनि पुर्ख्यौली गहना बेच्दिन भनेर जोगाएर राखेकी छु ।”

सोरठीका दुई छोरी छन् । आफूले यी गहनाहरु छोरीलाई उपहार दिने सोच राखेको उहाँले बताउनुभयो । हजुरआमादेखि आमा र आमादेखि छोरीसम्म परम्परागत गहना हस्तान्तरण हुँदै आएको उहाँले बताउनुभयो ।

महोत्सवमा गुरुङ समुदायका पुरुष पनि उत्तिकै परम्परागत शैलीमा देखिनुभयो । महोत्सवमा संयुक्त परिवारसँगै टुँडिखेल आउनुभएका ७० वर्षीय धर्ने गुरुङले ७ वर्षको नातिलाई परम्परागत पोसाक कछाड लगाउने तरिका सिकाउँदै हुनुहन्थ्यो । उहाँले युवा पुस्तालाई समेत साथमा लिएर संस्कार र संस्कृति बुझाउँदै हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.