रेशम उद्योगको पुनः जागरणका लागि राष्ट्रिय सम्मेलन आयोजना गरिने

काठमाडौँ– नेपालको रेशम उद्योग पुनःजागरणका लागि राजधानीमा राष्ट्रिय रेशम सम्मेलन आयोजना गरिने भएको छ । ह्याण्डलुम फ्याब्रिक्स मेकर्स अफ नेपाल र रेशम विकास केन्द्रको संयुक्त आयोजनामा यही पुस २६ गते सो सम्मेलन गर्न लागिएको हो।
नेपालको रेमश उद्योगलाई रणनीतिक, उच्च मूल्य अभिवृद्धि हुने र दिगो राष्ट्रिय उद्योगका रुपमा पुनःस्थापित गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको ह्याण्डलुम फ्याब्रिक्सका अध्यक्ष रोशकुमार पोखरेलले जानकारी दिनुभयो ।
सम्मेलनमा सरकार, निजी क्षेत्र, बैङ्क तथा वित्तीय संस्था,लगानीकर्ता, गैरआवासीय नेपाली, विकास साझेदार, कृषक, सहकारी, उद्यमी तथा निर्यातकर्ताहरुलाई एउटै राष्ट्रिय मञ्चमा एकत्रित गरिनेछ । सम्मेलनको कृषि तथा पशुपक्षी विकास मन्त्री डा मदनप्रसाद परियारले उद्घाटन गर्ने कार्यक्रम छ ।
सम्मेलनमा ‘नेपालमा दिगो रेशम खेतीको आधार स्थापना’, ‘नेपालको मूल्य अभिवृद्धि रेशम उत्पादन पारिस्थिति प्रणालीको निर्माण’ र ‘नेपाल रेशम भिजन २०२६–२०३५ को लागि सक्षम रेशम पारिस्थितिक प्रणालीको निर्माण’ सम्बन्धी सत्र सञ्चालन हुनेछ ।
ह्याण्डलुम फ्याब्रिक्सका अध्यक्ष पोखरेलले भन्नुभयो, “नेपालमा आज रेशम उद्योग सञ्चालनमा छैन, यसको कारण सम्भावनाको अभाव होइन, दीर्घकालीन उपेक्षा, विखण्डन र लगानीको कमी हो, विश्व बजारमा दिगो तथा प्राकृतिक वस्त्रको माग बढिरहेका बेला अब रेशमलाई वेवास्ता गर्न सकिँदैन ।”
रेशम विश्वकै उच्च मूल्य हुने कृषि–औद्योगिक उत्पादनहरुमध्ये एक हो । आज यहाँ आयोजित पत्रकार भेटघाटमा अध्यक्ष पोखरेलले रेशम उत्पादनबाट उच्च आम्दानी, न्यून कार्वन उत्सर्जन, महिलामुखी तथा ग्रामीण रोजगारी, कच्चा पदार्थभन्दा मूल्य अभिवृद्धि भएको निर्यातलगायत फाइदा लिन सकिने बताउनुभयो ।
करिब २२ हजार हेक्टर क्षेत्रमा किम्बु (मुलबेरी) खेती, त्यससँगै रेमश किरा पालन, धागो उत्पादन, बुनाइ र वस्त्र निर्माणलाई एकीकृतरुमपा विकास गर्न सकेमा वार्षिक रु पाँच खर्ब बराबरको आर्थिक मूल्य सिर्जना गर्न सकिने सम्भावना रहेको ह्याण्डलुम फ्याब्रिक्सले जनाएको छ ।
एकीकृत मूल्य श्रृङ्खलाको अभाव, नीतिगत प्राथमिकताको कमी, वित्तीय पहुँच र बीमाको अभाव, प्रविधि तथा सीपको कमी, बजार तथा निर्यात संयन्त्रको अभावलगायतका कारण रेशम उद्योग सङ्कटमा पर्दै गएको अध्यक्ष पोखरेलको भनाइ छ ।
सोही समस्या समाधानमा सरोकारवालाको ध्यानाकृष्ट गर्ने लक्ष्यका साथ सम्मेलन आयोजना गरिएको उहाँलेको स्पटोक्ति छ । सम्मेलनमा नेपालको रेशम विकासको १० वर्षे ढाँचा (२०२६–२०३५) को अवलम्बन, ‘क्लस्टर’मा आधारित किम्बु खेती र रेशम किरा पालन, विशेष वित्तीय, व्यापारिक तथा बीमा संयन्त्र, प्रविधि हस्तान्तरण र सीप विकास, एकीकृत ‘नेपाल सिल्क’ ब्राण्डिङ र बजार पहुँचलगायत विषयमा गहन छलफल हुनेछ ।
सम्मेलनबाट रेशमलाई रणनीतिक राष्ट्रिय उद्योगको मान्यता, सरकारलाई नीतिगत सिफारिस, लगानी तथा वित्तीय प्रतिबद्धता, किसान, सहकारी, लगानीकर्ता र निर्यातकर्ताबीच नयाँ साझेदारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामार्फत जनचेतना अभिवृद्धि हुने अपेक्षा गरिएको ह्णडलुम फ्याब्रिक्सका उपाध्यक्ष रामलाल श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.