तातोपानी र रसुवागढी नाका खुलेपछि कोरलाबाट आयात–निर्यात घट्यो

मुस्ताङ- नेपालचीन उत्तरी कोरला नाकाबाट आयातनिर्यात कारोबार न्यून हुँदै गएको छ । तातोपानी र रसुवागढी नाका हालै सञ्चालनमा आएसँगै कोरला नाकाबाट हुने आयातनिर्यात कारोबार न्यून हुँदै गएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।

पछिल्लो समय रसुवागढी र तातोपानी नाका खुलेपछि कोरला नाकास्थित चिनियाँ भन्सारमा नेपाल भित्रिने मालवाहक कन्टेनर न्यून भएको हो । सो कार्यालयका सूचना अधिकारी निमेन्द्र सिंहका अनुसार कोरलानाकाबाट नेपाल भित्रिएका मालवाहक कन्टेनर हाल भन्सार कार्यालयमा आठदशवटा मात्र जाँचपासका लागि ‘पेन्डिङ’मा रहेका बताउनुभयो । भन्सार जाँचपासका लागि पेन्डिङमा रहेका कन्टेनरबाहेक कोरलानाकाबाट थप कन्टेनर भन्सार कार्यालयमा नआएको सूचना अधिकारी सिंहको भनाइ छ ।

यसअघि तातोपानी र रसुवागढी नाका नखुल्दा दैनिक १५२० वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास हुने गरेकामा हाल त्यो सङ्ख्या लगभग पूरै घटिसकेको सूचना अधिकारी सिंहको भनाइ छ । गत ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको कोरला नाकाबाट भित्रिएका मालवस्तुको भन्सार जाँचपास हुँदा साढे पाँच अर्ब रुपैयाँ बढी राजस्व सङ्कलन भइसकेको छ । कोरलानाकाबाट हालसम्म ११ अर्ब बढीको मालवस्तु आयात भएको र नेपालबाट रु १९ करोड बढीको हस्तकला तथा नेपाली उत्पादन मालवस्तु चीनतर्फ निर्यात भएको उहाँको भनाइ छ ।

सूचना अधिकारी सिंहका अनुसार हालसम्म कोरला नाकाबाट दुई हजार १०० बढी विद्युतीय कार चीनबाट नेपाल भित्रिएका छन् । पछिल्लोपटक बिवाइडी कम्पनीले झन्डै ५०० बढी विद्युतीय कार कोरला नाकाबाट नेपाल भित्र्याएको छ । कोरला नाकालाई वैकल्पिक नाकाका रूपमा प्रयोग ल्याएको र तातोपानी नाका र रसुवागढी नाका खुलेपछि यहाँ आयातनिर्यात कारोबार घटेपछि भन्सार कार्यालयका कर्मचारी फुर्सदिला भएका छन् । यो नाकाबाट सामान ढुवानी गर्दा आर्थिक भार बढ्ने भएकाले आयातनिर्यातको परिमाण न्यून भएको हो ।

प्रमुख सिंहले तातोपानी र रसुवागढी नाका खुले पनि यहाँको भन्सार कार्यालयबाट प्रतिकूल मौसमबाहेक अन्य समयमा आयातनिर्यात कारोबार शून्य नहुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो “रसुवागढी र तातोपानी नाका बन्द हुँदाजस्तो आयातनिर्यात त नहोला, तर कतिपय व्यापारीका लागि यहाँको कोरलानाकाबाटै आयात-निर्यात गर्न सहज हुन्छ । यसैले विगतका वर्षजस्तो यहाँको भन्सार ठप्प भन्ने हुँदैन ।”

यतिबेला कोरलानाका र भन्सार कार्यालयमा चहलपहल घटेको छ । प्रतिकूल मौसमका बाबजुद भन्सार कार्यालयमा केही कर्मचारीले कार्यालय धानेर बसेका छन् । समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा व्यापार गरेर बस्ने व्यापारी, चिनियाँ भन्सारबाट मालवाहक कन्टेनर र विद्युतीय सवारी चलाएर बाहिर निकाल्ने स्थानीय युवाहरू पनि नाकाको चहलपहल घटेपछि जाडो छल्न बेँसी झरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.