अरुण नदीको बेलिब्रिज भाँचिदा भारी बोकेको ट्रक दुर्घटनाग्रस्त

भविन कार्की, सङ्खुवासभा- सङ्खुवासभाको मकालु गाउँपालिका वडा नम्बर ५ र २ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नम्बर–२ सेदुवा जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो । शनिबार बिहान ९ बजे सिमेन्ट बोकेको लावेट ट्रक तार्ने क्रममा बेलिब्रिज भाँचिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले जानकारी दिनुभयो । हेभी सवारी साधन तार्ने क्रममा पुल गाडी सहित भाँचिएको हो ।
बेलिब्रिज भाँचिदा नुम सेदुवा सडक खण्डको भित्री सडकमा प्रदेश –०३–००१ क २९२० नम्बर ट्रक अरुण नदीमा खसेको छ । ट्रक नदीमा खसेर दुर्घटनामा हुदा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका – ९ का ४० बर्षिय अर्जुन श्रेष्ठ गम्भीर घाइते भएका प्रहरी नायव उपरीक्षक मैनालीले बताउनुभयो । गम्भीर घाइते चालकको प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचार पश्चात काठमाडौं लग्ने तयारी भइरहेको छ ।
निर्माणाधीन कासुवा हाइड्रो पावर कम्पनीको निर्माण सामाग्री लिएर गएको लोवेट ट्रक पुल भाँचिएपछि अरुण नदीमा खसेको हो । अरुण नदीको बेलिब्रिज भाँचिएपछि नुम–सेदुवा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ भने आवतजावत ठप्प बनेको छ । यस मार्ग हुँदै मकालु बेस क्याम्प जाने-आउने गरिन्छ । पुल भत्किँदा स्थानीय बासिन्दा, पर्यटक तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा प्रत्यक्ष असर परेको छ । उक्त पुल मर्मत तथा वैकल्पिक व्यवस्था मिलाउन समन्वय भइरहेको छ । विशेषगरी कासुवा हाईड्रोपावरसँग मर्मत सम्भारका विषयमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्