आशा, आँसु र साहसको संगम दिल्लीको रोहिणी अर्थात ‘सानो नेपाल’

नयाँ दिल्ली- यो क्यान्सरसँग लड्दै आशा बोकेर बाँचिरहेका नेपालीहरूको कथा हो ।

( परिदृश्य: नयाँ दिल्ली चोक चोकको चिया पसलमा नेपालीहरुको भलाकुसारी, किराना पसलमा किनमेल र ठेलामा तरकारी पसलेहरुसँग सामानको मोलमोलाइ ।)

नेपालमा नै भएको अभास दिइरहेको वेला खल्तीबाट जव भारतीय रुपैयाँको नोट निस्कन्छ अनि झल्याँस्स परदेशी भूमिको आभाष हुन्छ । भारतको राजधानी दिल्लीस्थित रोहिणी सेक्टर-५ र सोमबजार क्षेत्र यतिबेला नेपालीहरूको एउटा भावनात्मक बस्ती बनेको छ ।

गल्ली–गल्लीमा सुनिने नेपाली भाषा, घरका झ्यालहरूमा सुकाइएका कपडा, बिहान अस्पतालतर्फ हतारिँदै गरेका बिरामी र साँझ कोठामै पाकिरहेको दाल–भातको बास्नाले यो ठाउँलाई विदेशमा बनेको ‘सानो नेपाल’ जस्तै बनाएको छ ।

यो बस्ती रोजगारी, व्यापार वा पर्यटकका लागि बनेको होइन, यो बनेको छ क्यान्सरसँग जीवन बचाउने संघर्षमा आएका नेपालीहरूको बाध्यताबाट ।

उपचारको खोजीले जन्माएको ‘सानो नेपाल’ दिल्लीस्थित राजिव गान्धी क्यान्सल अस्पताल तथा रिसर्च सेन्टरमा उपचारका लागि आउने विदेशी बिरामीमध्ये उल्लेख्य संख्या नेपालबाट आउने गर्छन् ।

नेपालीहरुको सहयोगीको भुमिका खेल्दै आउनु भएको नेपाली मुलका   एन बि ट्राभल्स एण्ड टूर्सका सञ्चालक विष्णु शाही ठकुरी यहाँ आउने विदेशी बिरामीमध्ये करिब ५० देखि ७० प्रतिशत नेपाली रहेको बताउनुहुन्छ ।

क्यान्सर उपचार महिनौँसम्म चल्ने भएकाले अस्पतालको महँगो बेडमा लामो समय बस्न सम्भव हुँदैन । त्यसपछि बिरामी र उनका कुरुवाहरू रोहिणी सेक्टर–५ तथा सोमबजार आसपासका गल्लीहरूमा साना कोठा भाडामा लिएर बस्न थाल्छन् ।

एउटै घरमा तीन-चार नेपाली परिवार बस्न थालेपछि यो क्षेत्र नेपालीहरूको केन्द्रजस्तै बनेको छ ।

डेराको जीवन, बाँच्ने आशामा कल्पिएका मनहरु

उपचारसँगै आर्थिक संघर्ष यहाँको जीवन बाहिरबाट देखिएजस्तो सहज छैन।

उपचार खर्च बाहेक दिल्लीमा बसोबास र खानपानका लागि मात्रै एक बिरामी र एक कुरुवाले मासिक करिब ५० हजारदेखि ७० हजार भारतीय रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ । यहाँ ६ सय रुपैयादेखि ३ हजार रुपैयाँमाथिका फ्ल्याटहरु सजिलै उपलब्ध हुने गर्दछ ।

यस क्षेत्रका सयौ घरहरुको हजारौ कोठाहरु नेपालका विरामी परिवारले खचाखच भरिएका छन् ।

धेरै बिरामीहरू साना, ओसिला र साँघुरा कोठामा बस्न बाध्य छन्।

कतिपय घरबेटीहरूले नेपाली बिरामीबाट बढी भाडा असुल्ने गरेको गुनासो सुनिए पनि अस्पताल नजिक बस्नुपर्ने बाध्यताले उनीहरू विकल्पविहीन हुन्छन्।

बाहिरको खाना स्वास्थ्यका लागि उपयुक्त नहुने र महँगो हुने भएकाले अधिकांश परिवार सोमबजारबाट सागसब्जी, चामल र दैनिक उपभोग्य सामग्री किनेर कोठामै नेपाली परिकार पकाउँछन् ।

विदेशमा बसे पनि भान्साबाट आउने स्वाद भने गाउँघरकै हुन्छ । पीडाले जोडेको आत्मीय सम्बन्ध यो ‘सानो नेपाल’ मा सबै अपरिचित भएर पनि आफन्तजस्तै बनेका छन् ।

एउटै रोगसँग लडिरहेका नेपालीहरू एकअर्काको सहारा बनेका छन्- कसैले अस्पतालको रिपोर्ट बुझाइदिन्छ, कसैले नयाँ बिरामीलाई डाक्टरसम्म पुर्‍याउँछ, त कसैले निराश मनलाई हौसला दिन्छ ।

विगत १० वर्षदेखि उपचार गराइरहनु भएका काठमाण्डौँका त्रिपाठी थरका एक जना विरामी सबै नेपाली विरामीहरु आफुलाई हेरेर साहस जुटाउन सल्लाह दिँदै गरेको भेटिन्छन । उनले करिव १० वर्षमा ५९ वटा किमो थेरापीको साइकल पुरा गरेका छ्न ।

अझ कति धाउनु पर्ने कुनै ठेगान नभएको उनको अनुभव छ । दशैँ, तिहार ,होली वा अन्य चाडपर्व आउँदा सानो कोठामै टीका–जमरा लगाएर सामूहिक रूपमा पर्व मनाउँछन । घरदेखि हजारौँ किलोमिटर टाढा भए पनि आत्मीयताको कमी महसुस हुन नदिने उनको अनुभव छ ।

“नेपालमै राम्रो उपचार भए यहाँ आउनु पर्दैनथ्यो” आमाको लामो समयको उपचारपछि यही सोमबार नेपाल फर्किन लागेकी पोखराकी वास्तोला थरकी एक चिकित्सक महिलाको अनुहारमा छुट्टै खुशी झल्किन्थ्यो । उनले भावुक हुँदै भनिन्, “नेपालमै समयमै र भरपर्दो उपचार पाइने व्यवस्था भएको भए यसरी परिवारसहित विदेशमा संघर्ष गर्नुपर्ने थिएन।” महिनौँको पीडा, आर्थिक भार र मानसिक तनावपछि घर फर्किने तयारीमा रहेकी उनको मुस्कानमा राहत मात्र होइन, संघर्ष जितेको अनुभूति स्पष्ट देखिन्थ्यो ।

नेपालमै क्यान्सर उपचार सेवा विस्तार हुँदै गएपनि ढिलासुस्ती, सिमित प्रविधि, विशेषज्ञ अभाव र व्यवस्थापन समस्याका कारण धेरै बिरामी अझै विदेश धाउन बाध्य छन् ।

कतिपय परिवारले उपचारका लागि घरजग्गा बेच्ने वा ऋण लिनेसम्मको अवस्था भोगिरहेका छन् । क्यान्सर जस्तो रोगमा उपचार ढिलो हुनु जीवनकै जोखिम भएकाले बिरामीहरू सुरक्षित विकल्प खोज्दै दिल्ली आइपुग्छन् ।

नेपाली बिरामीहरूको चापलाई ध्यानमा राख्दै अस्पतालले नेपलाीहरुका लागि छुट्टै  बिरामी सहायता सेवा सञ्चालन गरेको छ । यसले भाषा समस्या, भिषा प्रक्रिया, दर्ता तथा उपचारसम्बन्धी कागजी काममा नेपाली बिरामीलाई ठूलो राहत दिएको छ ।

यद्यपी, अस्पतालले नेपाली विरामीहरुको संख्या गोप्यनै राख्ने गरेको छ । आशा, आँसु र साहसको संगम रोहिणीको यो ‘सानो नेपाल’ वास्तवमा पीडाले जन्माएको समुदाय हो।

यहाँ हरेक कोठामा एउटा संघर्षको छुट्टै कथा छ-कसैको केमोथेरापी चलिरहेको छ, कसैले रिपोर्टको प्रतीक्षा गरिरहेका छन, त कोही निको भएर घर फर्किने दिन गन्दैछन ।

यी गल्लीहरूमा क्यान्सरसँगको लडाइँ मात्र होइन, नेपालीहरूको अदम्य साहस, आपसी सहयोग र बाँच्ने अठोट जीवित छ ।

विदेशी भूमिमा बनेको यो सानो बस्तीले एउटा सन्देश दिन्छ-रोगले शरीर थकाउन सक्छ, तर आशा र एकताले मानिसलाई फेरि उठ्न सिकाउँछ ।।

(हाल नयाँ दिल्लीमा रहनुभएका यादव, नेपाल टेलिभिजनका सुनसरी संवाददाता हुनुहुन्छ)

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.