बाँके-३ बाट रास्वपाका खगेन्द्र सुनार निर्वाचित

काठमाडौँ- बाँके क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार खगेन्द्र सुनार निर्वाचित हुनुभएको छ । उहाँ २९ हजार ५५१ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।
सुनारका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार सुमन मल्लले १९ हजार ६१५ मत प्राप्त गर्नुभएको छ ।
३५ बर्षीय सुनार दलित अधिकार अभियन्ताको रुपमा चिनिनुहुन्छ ।
काठमाडौँको माइतीघर मण्डलामा लामो समयदेखि जातीय विभेदविरुद्ध निरन्तर प्रदर्शनमा देखिरहने अनुहारको रुपमा उहाँ सामाजिक सञ्जालदेखि सार्वजनिक समारोहमा परिचित हुनुहुन्छ।
०७७ जेठ ११ गते रुकुम पश्चिममा जाजरकोटका नवराज बिकसहित ६ जनाको हत्याको दुई दिनपछि खगेन्द्रले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको गेटमा भोकै सुतेर आन्दोलन गर्नु भएको थियो ।
मुद्दाको सुनुवाइ चलिरहेका बेला जिल्ला अदालत रुकुमपश्चिमको गेटमा १० दिनसम्म धर्ना दिनु भएको थियो ।
संवैधानिक पद र राजनीतिक नियुक्तिमा दलित प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्दै उहाँले काठमाडौँको माइतिघरमा शरीरमा तीन किलोग्रामको नेल लगाएर धर्ना दिएको विषय खुबै चर्चाको विषय बनेको थियो ।।






प्रतिक्रिया राख्नुहोस्