रुपन्देही-३ बाट रास्वपाका लेखजंग थापा ५० हजार भन्दा बढी मतान्तरसहित विजयी

रुपन्देही- रुपन्देही-३ बाट रास्वपाका डा लेखजंग थापा विजयी हुनुभएको छ। उहाँले ५८८१४ मत प्राप्त गरी बिजयी हुनुभएको हो ।
उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुशील गुरुङले ८४३५ मत प्राप्त गर्नुभयो ।
विक्रम सम्वत् २०३४ सालमा रुपन्देहीमा जन्मिनुभएका लेखजंग थापा पेशाले चिकित्सक हुनुहुन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय विभाग सदस्य रहनु भएका शाह चिकित्सा शिक्षाका सबै तहमा उत्कृष्ट प्रदर्शन गर्दै उहाँले एमबीबीएसमा स्वर्ण पदक प्राप्त गर्नुभएको छ भने एमडी र डीएममा ‘प्रोग्राम टपर’ बन्नुभएको थियो। उहाँ वरिष्ठ स्नायु रोग विशेषज्ञ तथा सह-प्राध्यापकका रूपमा परिचित हुनुहुन्छ।
नेपालमा पहिलो पटक मस्तिष्कघात (स्ट्रोक) को प्रभावकारी उपचार ‘थ्रोम्बोलाइसिस थेरापी’ भित्र्याई कार्यान्वयन गर्ने क्लिनिकल इनोभेटरका रूपमा पनि उहाँ चिनिनुहुन्छ।
उहाँले अमेरिकाको हार्वर्ड मेडिकल स्कूलबाट ‘हेल्थ सिस्टम्स लिडरशिप र डिजिटल इनोभेसन’ (SQIL) मा विशेषज्ञता हासिल गर्नुभएको छ र दक्ष स्वास्थ्य प्रशासकका रूपमा पनि परिचित हुनुहुन्छ।
७० भन्दा बढी अन्तर्राष्ट्रिय स्तरका शोध लेख प्रकाशित गर्नुभएका उहाँ जर्मनीको हाइडेलबर्ग विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालन भइरहेको ‘नेपाल स्ट्रोक परियोजना’ का मुख्य अनुसन्धानकर्ताका रूपमा कार्यरत हुनुहुन्छ।
उहाँ राष्ट्रिय न्युरो केन्द्र (NNC) का निर्देशक तथा विभाग प्रमुख र ‘नेपाल स्ट्रोक संघ’ का संस्थापक अध्यक्षका रूपमा पनि चिकित्सा क्षेत्रमा नेतृत्व गरिरहनुभएको छ।
भैरहवामा पहिलो न्युरोलोजी केन्द्र स्थापना गरी विगत १० वर्षमा १ लाखभन्दा बढी विपन्न नागरिकलाई विशेषज्ञ सेवा प्रदान गर्नुभएको छ। ग्रामीण क्षेत्रमा नियमित स्वास्थ्य सेवा पुर्याउँदै उहाँ जनपक्षीय व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ।
साथै, जेहेन्दार विद्यार्थी र प्राथमिक स्वास्थ्य सेवाको प्रवर्द्धनका लागि ‘धन–होम अक्षयकोष’ जस्ता शैक्षिक तथा स्वास्थ्य कोष स्थापना गरी सामाजिक उत्तरदायित्व निर्वाह गर्ने समर्पित समाजसेवीका रूपमा पनि उहाँ चिनिनुहुन्छ।।






प्रतिक्रिया राख्नुहोस्