सुर्खेत-१ बाट नेपाली काँग्रेसका विष्णुबहादुर खड्का विजयी

सुर्खेत- सुर्खेत क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका विष्णुबहादुर खड्का प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँले २६ हजार ८ सय ९७ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएकाे हाे ।
उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ध्रुव शाहीले १८ हजार ८ सय ९० मत प्राप्त गर्नुभएकाे छ।

खड्काले पहिलोपटक संसदीय निर्वाचनमा भाग लिँदै जित हासिल गर्नुभयाे । उहाँ नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काका साइला भाइ हुनुहुन्छ।
पूर्णबहादुरले यही क्षेत्रबाट २०४८ सालदेखि लगातार पाँच पटक प्रतिनिधिसभा सदस्यको निर्वाचन जित्नु भएको थियाे। २०७४ सालको निर्वाचनमा भने उहाँ यही क्षेत्रबाट पराजित हुनुभयो थियाे भने एकपटक समानुपातिक सांसद बन्नुभयाे।
हाल नेपाली कांग्रेस सुर्खेतका जिल्ला उपसभापति रहनुभएका विष्णुबहादुर खड्काले २०३६ सालमा बहुदलीय व्यवस्थाको पक्षमा उभिँदै आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको थियो।
त्यसबेला वीरेन्द्रनगरमा बहुदलको पक्षमा राँके जुलुस निकाल्ने, भित्तेलेखन गर्ने तथा पर्चा–पम्पलेट वितरण गर्ने अभियानमा उहाँले नेतृत्व गर्नुभएकाे थियाे। २०४६ सालको जनआन्दोलनका क्रममा पनि उहाँले सुर्खेतमा आन्दोलनको नेतृत्व गर्नुभयाे।
त्यसक्रममा उहाँ पहिलोपटक ११ दिन र दोस्रोपटक २६ दिन हिरासतमा बस्नु भएकाे थियाे।
कांग्रेसको १०औँ महाधिवेशनमा उनी साविक वीरेन्द्रनगर नगरपालिका-८ को वडासभापतिमा निर्वाचित भएका थिए भने १४औँ महाधिवेशनमा प्रतिनिधिसमेत बन्नुभयाे।
राजनीतिसँगै खड्का व्यवसायिक क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ। उहाँले २०४२ सालमा वीरेन्द्रनगरमा ‘माया मेडिकल हल’ स्थापना गर्नुभएकाे थियाे, जसको विस्तार गर्दै अहिले ‘माया नर्सिङ होम’ सञ्चालनमा छ।
२०५० सालमा उहाँले मध्यपश्चिम यातायात व्यवसायी संघ स्थापना गरेका थिए र हाल मध्यपश्चिम यातायात प्रालिका अध्यक्षसमेत छन्। करिब ३२ वर्षदेखि उहाँले यस संस्थाको नेतृत्व गर्दै आउनु भएकाे छ । २०२४ साल कात्तिक ६ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ इत्राममा जन्मिनु भएका खड्काले प्लस टूसम्म अध्ययन गर्नु भएको छ ।
उहाँले आफूले सञ्चालन गरेका विभिन्न व्यवसायमार्फत करिब एक हजार युवालाई रोजगारी उपलब्ध गराएको दाबी गर्नु भएको छ । मध्यपश्चिम विश्वविद्यालय स्थापना, शिक्षा, स्वास्थ्य तथा विकास निर्माणका क्षेत्रमा पनि आफूले योगदान पुर्याएको उहाँको भनाइ छ।
नवनिर्वाचित सांसद खड्काले जनताप्रति बफादार रहँदै संविधानको पालना गरी कर्णाली प्रदेशको समृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।
उहाँले निर्वाचनका क्रममा मतदातासँग गरेका वाचा योजनाबद्ध रूपमा पूरा गर्दै विकास र कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने बताउनु भएको छ।।






प्रतिक्रिया राख्नुहोस्