दार्चुलाबाट एमालेका गणेश सिंह ठगुन्ना विजयी

काठमाडौँ- दार्चुला नेकपा (एमाले)का उम्मेदवार गणेशसिंह ठगुन्ना प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । निर्वाचनको अन्तिम मतपरिणाम अनुसार ठगुन्नाले १८ हजार ८९९ मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।
उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशीले १५ हजार ८३६ मत प्राप्त गर्नुभयो ।
२०२८ सालमा दार्चुलामा जन्मनु भएका गणेश सिंह ठगुन्ना एमालेको भुइँतहबाट उठेका नेताको रुपमा चिनिनु हुन्छ।
उहाँले आफ्नो राजनीतिक यात्रा २०४५ सालमा अनेरास्ववियुबाट सुरु गर्नु भएको थियो ।
विद्यार्थी राजनीतिबाट सक्रिय बन्नु भएका ठगुन्ना २०४७ सालमा एमालेको जिल्ला संगठन कमिटी सदस्य बन्नुभयो ।
त्यसपछि २०५० सालदेखि लामो समयसम्म उहाँले एमाले जिल्ला कमिटी सचिवको जिम्मेवारी लिनुभयो ।
स्थानीय तहदेखि केन्द्रसम्मको अनुभव सँगालेका ठगुन्ना २०५४ सालमै दार्चुला जिल्ला विकास समिति (जिविस) का सभापति बन्नु भएको थियो ।
हाल एमालेका पोलिटब्यूरो सदस्यसमेत रहनु भएको छ ।
उहाँको यो तेस्रो संसदीय यात्रा हो । ठगुन्नाले २०७० र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा लगातार जित हासिल गर्नु भएको थियो।
उहाँ २०७८ सालमा उहाँ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत बन्नु भयो।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा भने उहाँ नेपाली कांग्रेसका उम्मेदवार दिलेन्द्रप्रसाद बडूसँग पराजित हुनु भएको थियो।।






प्रतिक्रिया राख्नुहोस्