विराट गोल्ड कप फुटबल प्रतियोगिताः झापा विजयी

मोरङ- विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबारदेखि सुरु भएको पहिलो उद्घाटन खेलमा झापा-११ विजयी भएको छ । विराट गोल्डकप फुटबल ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालाको फ्लड लाइटमा (रात्रिकालीन) नकआउट आधारमा भएको पहिलो खेलमा झापाले नेपाल आर्मीलाई २-१ गोलले पराजित गरेको हो ।

झापाका खेलाडीले फागुराम थारूले खेलको १०औँ र ४४औँ मिनेटमा गोल गरेका थिए भने आर्मीका तर्फबाट खेलको २३औँ मिनेटमा नवीन लामाले एक गोल फर्काएका थिए । शनिबारको खेलमा उत्कृष्ट बनेका झापाका फागुराम थारूले नगद रु ११ हजार पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिता आगामी वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपाल र भारतका गरी आठ समूहले सहभागिता जनाएका छन् ।

‘फुटबलको पर्व, विराटनगरको गर्वः विराट गोल्डकप’ नाराका साथ सञ्चालन भइरहेको प्रतियोगितामा नेपाल पुलिस क्लब (काठमाडौँ), त्रिभुवन आर्मी फुटबल क्लब (काठमाडौँ), मच्छिन्द्र फुटबल क्लब (काठमाडौँ), नेपाल एपिएफ फुटबल क्लब (काठमाडौँ), चर्च ब्वाइज युनाइटेड फुटबल क्लब (काठमाडौँ), सम्राट स्र्पोटिङ क्लब (विराटनगर), झापा–११ फुटबल क्लब (झापा) र भारत झारखण्डको विर्षामुण्डा फुटबल एकेडेमी सहभागी छन् ।

ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीका अनुसार विराटनगर गोल्डकपको ३८औँ संस्करणमा विजेता हुने समूहले ११ लाख, उपविजेताले पाँच लाख, उत्कृष्ट प्रशिक्षकलाई १५ हजार, उत्कृष्ट गोलरक्षकलाई १५ हजार, सर्वाधिक गोलकर्तालाई १५ हजार, सर्वोकृष्ट खेलाडीलाई ५१ हजार र दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिता सम्पन्न गर्न एक करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको ट्रष्टका महासचिव विनोद बस्नेतले बताउनुभयो । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले प्रतियोगिताको उद्घाटन गर्दै प्रदेशमा खेलकुद क्षेत्रको विकासलाई सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । आजको खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.