सिरुवारीमा ‘बेञ्चिङ’ बिधिबाट पहिरो रोकथाम

म्याग्दी- कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्र्तगत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा पहिरो रोकथामका लागि ‘बेञ्चिङ’ बिधि अपनाइएको छ ।

सिरुवारीमा बर्खायाममा पहिरो खसेर सडक अवरुद्ध हुने समस्याको अस्थायी समाधानका लागि भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाले अल्पकालिन रुपमा कम खर्चमा पहिरो रोकथाम गर्न सकिने ‘बेञ्चिङ’ बिधि अपनाएको हो । म्याग्दीका सडकमा पहिरो रोकथामका लागि ‘बेञ्चिङ’ बिधि पहिलो पटक सिरुवारी पहिरोमा प्रयोग भएको हो ।

अस्थायी रुपमा सिरुवारी पहिरो रोकथाम गरेर आगामी बर्खामा बेनी–जोमसोम–कोरला सडकमा नियमित यातायात सञ्चालनका लागि ‘बेञ्चिङ’ बिधि अपनाइएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो ।

“सिरुवारीको तीन सय मिटर दुरीको पहिरोको दिर्घकालिन समाधानका लागि आवश्यक पर्ने रु. ६० करोड बजेटको स्रोत सुनिश्चितता हुन नसकेपछि आयोजनाले आन्तरिक स्रोतबाट अस्थायी रुपमा पहिरो रोकथाम गर्न बेञ्चिङ गरेको हो,” उहाँले भन्नुभयो “भिरालो पाखाको पहिरोलाई सिधै सडकमा खस्न नदिनका लागि गह÷गह बनाइएको छ ।”

गत चैत महिनाको पहिलो सातादेखि डोजर परिचालन गरेर शुरु गरिएको बेञ्चिङ गर्ने कार्य केही दिनअघि सकिएको हो । सिरुबारीमा सडकदेखि एक किलोमिटर माथिसम्मको जमिन पहिरोमा परिणत भएको छ । सडकतल कालीगण्डकी नदी छ । पछिल्लो तीन वर्षयता बर्खायाममा सिरुवारीको सडक माथिबाट पहिरो खसेर दैनिक जसो बेनी–जोमसोम सडक अवरुद्ध हुने गरेको छ ।

सडक अवरुद्ध हुँदा कोरला नाकाबाट नेपाली बजारमा सामान ल्याएर आउने कन्टेनर, मुस्ताङ जाने आउने पर्यटक, तिर्थयात्री र स्थानीयबासीहरु बिच बाटोमै रोकिएर अलपत्र पर्ने समस्या छ । बेनी–जोमसोम सडकको अन्य ठाउँका ठूला पहिरो नियन्त्रणका लागि काम थालिएपनि सबैभन्दा ठूलो सिरुवारीको पहिरो रोकथामका लागि बजेट अभावमा काम हुन सकेको थिएन् ।

भिरालो जमिनलाई सिँढीजस्तो तह बनाएर स्थिर बनाएर पहिरो नियन्त्रण गर्ने बिधीलाई प्राबिधिक भाषामा ‘बेञ्चिङ’ भनिन्छ । सडक भन्दा माथि बीच भागमा दुई ठाउँमा डोजरले सम्माएर पहिरोलाई सिधै खस्न नपाउने गरि सम्माइएको छ ।

करिब १७ मिटर फराकिलो पारिएको सडकको डिलतर्फ सात मिटर छाडेर कुनातर्फको भागमा पहिरो थुप्रिने ठाउँ राखिएको छ । ढल्केको जमिनलाई सिढीजस्तो बनाएपछि प्रत्येक तहले माथिको माटोको भार सम्हाल्ने, पानी बग्ने गति घट्ने र माटो चिप्लने सम्भावना कम हुने बेनी–जोमसोम–कोरला सडक योजनाका सूचना अधिकारी जेमकुमार बैठाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.