विपद् आउनु अघि व्यवस्थापनको तयारीमा जुट्न निर्देशन

काठमाडौँ– विपद् आउनु अघि नै व्यवस्थापनको तयारी गर्न राष्ट्रियसभाका सदस्यहरुले निर्देशन दिनुभएको छ ।
राष्ट्रियसभा, सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको आज बसेको बैठकमा विपद्जन्य जोखिमको न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभको तयारीका विषयमा छलफलका क्रममा सो निर्देशन दिइएको हो ।
समितिका सभापति जयन्तीदेवी राईले अब मनसुन सुरु भएसँगै बाढीपहिरो जस्ता विपद्का घटना घटन सक्ने सम्भावना हुँदा त्यसको नियन्त्रणका लागि पूर्वतयारी जरुरी रहेको बताउनुभयो । सभापति राईले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई विपद् आउनु अघि नै व्यवस्थापनको तयारी गर्न निर्देशन दिनुभयो ।
बैठकमा समितिका सदस्यहरु ललितजङ्ग शाही, श्रीकृष्णप्रसाद अधिकारी, दुर्गा गुरुङ, विष्णुकुमारी सापकोटा, धर्मेन्द्र पासवानलगायतले विपद् न्यूनीकरणका लागि जोखिम कम गर्ने कार्य योजना बेलैमा सुरु गर्नुपर्ने बताउनुभयो । समितिका सदस्य पासवानले मधेस सुक्खा, बाढी, आगलागी, हावाहुरी, शितलहर लगायतका प्राकृतिक प्रकोपको जोखिममा पर्ने हुँदा बेलैमा प्रभावकारी कार्य योजना बढाउन सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, “सकेसम्म विपद् आउनु अघि नै हुन नदिने तयारीमा जोड दिनुपर्छ । भइसकेपछि व्यवस्थापनमा राहतको विषय प्राथमिकतामा राख्नुपर्छ ।”
समितिको बैठकमा उपस्थीत गृह सचिव राजकुमार श्रेष्ठले विपद् व्यवस्थापनमा स्थानीय तहलाई बलियो बनाएर सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले विपद् व्यवस्थापनका लागि विगतमा गरिएका प्रयास र यो वर्ष गर्न लागिएको तयारीबारे समितिमा ब्रिफिङ गर्नुभयो । यसै क्रममा उहाँले विगतको तुलनामा गत वर्ष विपद्का कारण मानवीय क्षति कम भएको जानकारी दिनुभयो ।
कार्यकारी प्रमुख भट्टले यसलाई सकारात्मक शिक्षाको रुपमा ग्रहण गर्दै आगामी विपद् जोखिमबाट सुरक्षित हुन प्राधिरकणले कार्य योजना बनाइसकेको बताउनुभयो । उहाँले कार्यपत्र प्रस्तुत गर्दै स्थानीय तह र त्यहाँका सरोकारवाला एवं सङ्घसंस्थासँग प्रत्यक्ष सहकार्य गरेर विपद् जोखिमका बेला अपनाउनु पर्ने आधार तयार गर्दै आएको सुनाउनुभयो ।
सूचना संयन्त्रलाई व्यापक बनाउने, जनचेतना विस्तार गर्न सञ्चार माध्यमको प्रयोग बढाउनेदेखि विपद्सम्बन्धी सचेतना जगाउन विद्यालय पाठ्यक्रममा विषय समेट्नेलगायत दीर्घकालीन कार्य योजना बनाएको कार्यकारी प्रमुख भट्टले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्