निरन्तरको वर्षाले देशका विभिन्न सडक खण्डहरु अवरुद्ध

काठमाडौः निरन्तरको वर्षाका कारण देशका विभिन्न सडक खण्डहरु अवरुद्ध छन् । वर्षासँगै आएको बाढीले देशका विभिन्न स्थानका सडक खण्डहरुमा सवारी आवागमन प्रभावित हुँदा स्थानीयलाई सास्ती भएको छ । वर्षाका कारण पूर्ण रुपमा अवरुद्ध भएका सडकहरु कतै एकतर्फी सञ्चालनमा आएका छन् त कतै अझै पनि सञ्चालनमा आउन सकेको छैन ।
वर्षा जारी नै रहेकोले सडक सञ्चालनमा समेत समस्या भएको प्रहरीले जनाएको छ । मुख्य सडक खण्डहरुमा सवारी सञ्चालनमा पूर्ण रुपमा रोक लगाएका कारण वैकल्पिक सडकको प्रयोग गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह समेत गरेको छ । आवागमन प्रभावित हुँदा लामो तथा छोटो दुरीका सवारीसाधनहरु बिच बाटो मै अलपत्र परेका छन् । सहज रुपमा यातायात सञ्चालन गर्न नसक्दा सवारी चाप बढेको छ भने घन्टौँ जाममा बस्न यात्रुहरु बाध्य भएका छन् ।
भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको भोजपुर-चखेवा सडक पुनः एकतर्फी सञ्चालनमा आएको छ । भोजपुर नगरपालिका-५ बोखिमस्थित चाल्से खोल्सामा गए राति एक्कासि आएको बाढीले पुल बगाएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको थियो । स्थानीय तहको पहलमा वैकल्पिक ट्रयाक खोलिएपछि हाल साना सवारीसाधन सञ्चालनमा आएका छन् ।
यता वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग अझै खुल्न सकेको छैन । डिभिजन सडक कार्यालय भक्तपुरलगायतले आज बाटो खुलाउने प्रयास गर्दागर्दै पुनः परेको वर्षाले थप अवरुद्ध बनाएको हो । सम्भावित जोखिमलाई मध्यनजर गर्दै अस्थायी डाइभर्सनको काम रोकिएको र वर्षा नभएमा आज बिहानदेखि पुनः सडक आवागमन गराउन डाइभर्सनको कामलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ । रोशी खोलामा आएको बाढीले कटुन्जे–मङ्गलटार सडकका विभिन्न स्थानमा करिब चार किलोमिटर डाइभर्सनमा क्षति पुर्याएको छ । आँधीहुरीसँगै आएको असिना पानीका कारण महोत्तरीको सदरमुकाम जलेश्वर जलमग्न बनेको छ । जलेश्वर नगरभित्रका प्रायःजसो सडक डुबानमा परेपछि सडकमा पैदल हिँडडुल गर्न समस्या भएको हो ।






प्रतिक्रिया राख्नुहोस्