डिडीसीको याक चिजको माग २५ प्रतिशतले बढ्यो

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह ले दुग्ध विकास संस्थान (डिडीसी) को उत्पादन याक चिजसहितको तस्बिर फेसबुकमा सार्वजनिक गरेपछि याक चिजको माग उल्लेख्य रूपमा बढेको छ । डिडीसीका अनुसार देशभरका बिक्री केन्द्रबाट विस्तृत तथ्यांक आउन बाँकी रहे पनि हालसम्म करिब २५ प्रतिशतले माग बढेको प्रारम्भिक अनुमान गरिएको छ ।
प्रधानमन्त्री शाहले शनिबार दिउँसो १ बजेर ४३ मिनेटमा डिडीसीको याक चिजसहितको तस्बिर फेसबुकमा सार्वजनिक गर्नुभएको थियो । उक्त पोस्ट सार्वजनिक भएपछि बिक्री केन्द्रहरूमा उपभोक्ताको चासो र भीड बढेको दुग्ध विकास संस्थानका शाखा अधिकृत तथा काठमाडौं बजार व्यवस्थापन शाखा प्रमुख चूडामणि आचार्यले जानकारी दिनुभयो ।
डिडीसीले रसुवा, दोलखा, रामेछाप, सोलुखुम्बु, इलाम र पाँचथर लगायतका जिल्लाबाट चौँरीको दूध सङ्कलन गरी याक चिज उत्पादन तथा बिक्री गर्दै आएको छ । संस्थानले देशभरका १४ वटा चिज उत्पादन केन्द्रमध्ये ८ वटा केन्द्रबाट याक चिज उत्पादन गर्दै आएको जनाएको छ । वार्षिक करिब ३६ हजार केजी याक चिज उत्पादन हुने डिडीसीको तथ्यांक छ ।
शनिबार र आइतबार याक चिजसँगै डिडीसीका अन्य दुग्धजन्य उत्पादनप्रति पनि उपभोक्ताको चासो बढेको संस्थानले जनाएको छ । देशभरका बिक्री केन्द्रहरूको विस्तृत माग तथा बिक्री विवरण सोमबार प्राप्त हुने बताइएको छ ।
प्रधानमन्त्री शाहले फेसबुक पोस्टको शीर्षकमा “से चिज, डिडिसीको चिज अर्थात् चिज भन्नुस्” भन्ने सन्देश राख्नुभएको थियो । आइतबार साँझ ७ बजेसम्म उक्त पोस्टमा ४ लाख ६६ हजारभन्दा बढी लाइक, ४६ हजार २ सयभन्दा बढी प्रतिक्रिया तथा ४ हजारभन्दा बढी शेयर प्राप्त भएको छ ।
प्रधानमन्त्रीले सोही पोस्टमा “डिडीसी नेपाल सरकारको संस्था हो” भन्ने सन्देशसमेत राख्नुभएको थियो, जसमा हजारौँ प्रतिक्रियाहरू आएका छन् । पोस्टमा लाइक, शेयर तथा प्रतिक्रियाको संख्या निरन्तर बढिरहेको छ ।
उच्च हिमाली तथा पहाडी क्षेत्रमा पालिने चौँरीको दूधबाट डिडीसीले उच्च गुणस्तरको याक चिज उत्पादन गर्दै आएको छ । प्रधानमन्त्रीबाट सामाजिक सञ्जालमार्फत प्रवर्द्धन भएपछि याक चिजको माग बढे पनि हाल उत्पादन तथा आपूर्तिमा कुनै समस्या नरहेको डिडीसीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्