बन्दसत्र रोकिँदा प्रतीक्षा, घुमफिर र सेल्फीमा बित्यो प्रतिनिधिको दिन

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको आजको दिन बन्दसत्रको प्रतीक्षामै बित्यो।

 बिहान ८ बजेदेखि सुरु हुने भनिएको बन्दसत्र अन्तिम समयमा भोलि विहानसम्मका लागि स्थगित गरिएको छ ।  प्रतिनिधिहरूले दिनभर विभिन्न गतिविधिमा समय कटाए। बन्दसत्र नहुँदा महाधिवेशन प्रतिनिधि आज चितवनका पर्यटक बने ।

महाधिवेशनको सबैभन्दा महत्त्वपूर्ण मानिएको बन्दसत्र सुरु नहुँदा प्रतिनिधिहरू दिनभर जसो अन्योलमा परेका थिए। दिनभर बन्दसत्र कहिले सुरु हुन्छ भन्ने चासो र प्रतीक्षाबीच कतिपय प्रतिनिधि चितवनका पर्यटकीय क्षेत्र घुम्न निस्किए भने केही नारायणी नदी किनारमा टहलिँदै देखिए।

सौराहा, शक्तिखोरलगायतका स्थानमा प्रतिनिधिहरूको चहलपहल बाक्लो थियो। होटलमा बसिरहेका प्रतिनिधिहरूले छलफल, भेटघाट र अनौपचारिक संवादमै समय बिताए। महाधिवेशन स्थलमा भने प्रतिनिधिहरु नेताहरूसँग भेट्ने र तस्बिर खिचिरहेका भेटिन्थे। केही प्रतिनिधि मन्त्रीहरुसँग गुनासो राख्ने देखि पार्टी भित्रका सेलिव्रेटी र शीर्ष नेतासँग सेल्फी खिच्न व्यस्त रहे। सुदूरपश्चिमाबाट आएका महाधिवेशन प्रतिनिधि देउडामा रमाए ।

महाधिवेशनमा सहभागी प्रधानमन्त्रीदेखि केही मन्त्रीहरूले भने खाली समयलाई निरीक्षण भ्रमणमा उपयोग गर्नु भयो । प्रधानमन्त्री बालेन्द्र शाह हात्ती प्रजनन केन्द्र अवलोकनमा पुग्नुभयो। प्रधानमन्त्री शाहले सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरको आज निरीक्षण गर्नुभयो ।

प्रजनन केन्द्रका प्रमुख मणिपुरण चौधरीका अनुसार र प्रधानमन्त्री शाह सहपरिवार तालिम केन्द्र पुग्नुभएको थियो ।

प्रधानमन्त्री शाह कालिका नगरपालिका, शक्तिखोरस्थित होटल लटौली सेन्चुरीमा बस्नुभएको छ । त्यहाँ रहँदा उहाँले स्थानीयसँग समेत अनौपचारिक भेटघाट गर्नुभयो ।

यस्तै कृषि वन तथा वातावरण मन्त्री गिता चौधरीले चितवन राष्ट्र निकुन्जको कार्यालयमा पुग्नु भयो । मन्त्री चौधरीले चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका सवालमा छलफल गर्नुभयो ।

मन्त्री चौधरीले भ्रमणका क्रममा जैविक विविधता संरक्षण, समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापन, वैज्ञानिक अनुसन्धान र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायहरूबारे विस्तृत जानकारी लिनु भयो । भ्रमणका क्रममा वन्यजन्तु र मानवबीचको सहअस्तित्व कायम गर्न सरकारले चाल्नुपर्ने सम्पूर्ण कदमहरू दृढताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै सञ्चारमन्त्री विक्रम तिम्लिसिनाले स्थानीय नेपाल टेलिकम कार्यालयको निरीक्षण गरी सेवाग्राहीमैत्री सेवा प्रवाह गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो।

नेपाल टेलिकम भरतपुरको कार्यालय निरीक्षणका क्रममा सेवाग्राहीलाई केन्द्रमा राखेर जिम्मेवारी पूरा गर्न मन्त्री डा तिमिल्सिनाले निर्देशन दिनुभएको हो ।

उहाँले यसअघि सरकारी कार्यालयहरूमा सेवा लिन जान नपरेहुन्थ्यो भन्नेसम्मको गुनासो आउने गरेको सन्दर्भमा छिटोछरितो ढङ्गबाट सेवा प्रदान गरी सेवाग्राहीको विश्वास जित्ने गरी काम गर्न निर्देशन दिनुभयो ।

दूरसञ्चार क्षेत्रमा विगतको तुलनामा धेरै काम भएको भन्दै उहाँले जनअपेक्षाअनुसार अझ धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।

दिनभर प्रतिनिधिहरूबीच बन्दसत्र कहिले सुरु हुन्छ भन्ने जिज्ञासा कायम रह्यो।तर साँझतिर रास्वपाका प्रवक्ताले मनिष झाले प्रतिनधि नामावली रुजु र प्रतिनधि कार्ड प्रिन्ट गर्ने कामले समय लिएकाले आजका लागि तय गरिएको बन्दसत्र मंगलबार बिहानसम्मका लागि स्थगित गरिएको जानकारी दिएपछि प्रतिनिधिहरू आ–आफ्नो होटलतर्फ फर्किए ।

सरकारको नेतृत्व गरेको देशको सवैभन्दा ठुलो दलको हिजोदेखि चितवनमा सुरु भएको प्रथम महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरू पार्टीको भावी नेतृत्व र संगठनात्मक प्रस्तावमाथि छलफल गर्ने प्रतिक्षमा रहेका छन् ।  महाधिवेशनका लागि चारहजार बढी महाधिवेशन प्रतिनधि नेताकार्यकर्ताहरु चितवनमा पुगेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.